नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
मोरङको बुढीगङ्गा गाउँपालिका–१ को नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले सुशासनबाट नै मुलुकमा सङ्घीयता बलियो हुने विचार राख्नुभयो । वडा तहदेखि नै जनप्रतिनिधिहरुले सुशासन कायम गर्न भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो । जनप्रतिधिहरुले राजनीतिकलाई समाज सेवाको रुपमा लिनुपर्छ ।”
नेता कोइरालाले जनप्रनिधिहरुले शिक्षा, स्वास्थ्य, मलखाद, सडक र पुलपुलेसामा जनताको सहज पहुँच पुर्याउन आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको चाहना र आवश्यकतामा केन्द्रित नहुने जनप्रतिधिको राजनीतिक जीवन दिगो नहुने धारणा राख्नुभयो ।
जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नागेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको दुई कठ्ठा जग्गामा रु ७९ लाख २७ हजार भवन निर्माण भएको हो ।
गाउँपालिका अध्यक्ष जितनारायपण थापामगर, उपाध्यक्ष अमृता गच्छदार, पूर्व अध्यक्ष बालचन माझी, वडाध्यक्ष सोमराज काफ्ले र जग्गादाता खिलानाथ निरौलाई भवन निर्माणबाट वडावासीलाई सेवा सेविधा लिन सहज भएको विचार राख्नुभयो ।
