कोसीको मुख्यमन्त्रीमा कांग्रेसका थापा पुनः नियुक्त

मुख्य समाचार राजनीति

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ उनलाई मुख्यमन्त्रीमा पुनः नियुक्त गरेका हुन्।

प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित थापाले आजै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन्।

ad
प्रदेशमा एमाले–राप्रपा तथा कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा दुवै गठबन्धनमा ४६–४६ सांसद (सभामुखबाहेक) छन्। सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले पुनः मुख्यमन्त्रीमा दाबी पेस गरेको थियो।

यसअघि सभामुखसमेतको हस्ताक्षरमा थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति बदर गरेपछि सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन्।