काठमाडौँ, ३१ साउन : उपसभामुख इन्दिरा रानामगरले सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको टिप्पणी गर्नुभएको छ । जनआकाश साप्ताहिकद्वारा आज आयोजित स्रष्टा सम्मान कार्यक्रममा उहाँले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले जस्ताकोतस्तै देखिने गरी ऐनाको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आमसञ्चार सबै पक्षको साझा संस्थाका रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै उहाँले पत्रकार कुनै पनि हालतमा राजनीतिकरूपमा विभक्त हुन नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम विडारीले साना लगानीका मिडियालाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठूला मिडियाले प्रवाह गरेका सूचना तथा समाचार पत्याउनुपर्ने अवस्था आएको बताउनुभयो । यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको भूमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य खुमबहादुर सुवेदीले पत्रकारिता जगतले ग्रामीण विकासका साथै सामाजिक रुपान्तरणका लागि प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रमका वित्तीय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी, बहुआयामिक प्रतिभा गरी १५ विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
