जनपुरधाम, २ भदौ : मिथिलाञ्चलसहित तराई मधेसका जिल्लामा नवविवाहिता नारीले मनाउने मधुश्रावणी पर्व डेढ महिनापछि आज सम्पन्न भएको छ ।
साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि सुरु भएको पर्व मलमासका कारण यसपटक डेढ महिनापछि सम्पन्न भएको हो । विगत वर्षहरुमा साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्लपक्ष तृतीय अर्थात १५ दिनसम्म चल्ने पर्व यसपटक भने मलमास परेकाले ४४ दिनपछि शनिबार मात्रै सम्पन्न भएको मैथिली संस्कृतिका जानकार भारती झाले जानकारी दिनुभयो ।
मधुश्रावणी पर्वका बारेमा महिला अधिकारकर्मीहरुका फरकफरक मत रहे पनि यसलाई नारी सहनशीलताको प्रतिकका रुपमा लिने गरिएको झाको भनाइ छ । प्रणय पर्वका रूपमा चिनिने यस पर्वमा नवविवाहिता नारीले माइतीघरमै बसेर मनाउने र पूजाका लागि आवश्यक पर्ने सरसामानदेखि खाद्यान्नलगायत अन्य सामग्री भने श्रीमान् अर्थात बेहुलाको घरबाट दिने परम्परा छ ।
यसअवधिमा नवविवाहिता नारीले समूहमा भेला भएर विभिन्न प्रकारको परम्परागत गीतसहित घर नजिकको सार्वजनिक उद्यान, बारी तथा धार्मिकस्थलमा भएको मठ मन्दिरमा रहेको फूलबारीबाट साँझपख फूल टिपेर राख्ने र भोलिपल्ट बिहान सोही फूलबाट शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने चलन रहेको छ ।
अरु दिन माइतीघरमा रहेकी नवविवाहिता नारीले श्रीमान्को अनुपस्थितिमा पूजाअर्चना गरे पनि अन्तिम दिन भने श्रीमान्सहित विशेष पूजालगायतका क्रियाकलाप गर्ने गरिन्छ ।
यसक्षेत्रमा विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिले यो पर्व मनाउने गरेका छन् ।