लगानीसम्मेलनमा क–कसले गरे लगानीको घोषणा ?

आर्थिक राजनीति समाचार
सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन् ।

तीनै तहको निर्वाचनपछि बनेको स्थिर र बलियो सरकारले सम्मेलनमा आफ्नो आर्थिक नीति सुनाउँदै उनीहरूको विश्वास जित्ने भरपूर प्रयास गरेको छ । सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका ७७ परियोजनामा विदेशी लगानी आह्वान गरेको छ । सहभागी प्रतिनिधिले शुक्रबार सम्मेलनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । केही उद्योगीले लगानीको घोषणासमेत गरिसकेका छन् । यसबाट सरकार उत्साही देखिएको छ । लगानीकर्ताको प्रतिबद्धता भने शनिबार मात्रै टुंगो लाग्नेछ ।

लगानीकर्तालाई सुरक्षा, नाफा र लाभांश फिर्ताको ग्यारेन्टी दिन्छौँ
प्रधानमन्त्री केपी ओली 

लामो समयको राजनीतिक संक्रमण अन्त्य भएर स्थायित्व आएको छ । राजनीतिक उपलब्धि संस्थागत भइसकेका छन् । राजनीतिक रूपान्तरण मात्रै पर्याप्त हुँदैन, आर्थिक रूपान्तरण पनि चाहिन्छ । अबको मुख्य एजेन्डा भनेको आर्थिक रूपान्तरण नै हो । यसका लागि हामीले यस वर्ष व्यापक कानुनी र प्रक्रियागत सुधार गरेका छौँ । विदेशी लगानीका लागि अनुकूल वातावरण बनेको छ । हामीलाई दोहोरो आर्थिक वृद्धिको खाँचो छ । यसका लागि ठूलो पुँजी चाहिन्छ । स्वदेशी पुँजी मात्रै पर्याप्त हुँदैन । यहाँ आउनुस् र ठूलो लगानी गर्नुहोस् । लगानीको सुरक्षा, नाफा र फिर्ता लैजान सक्ने अवस्थाको ग्यारेन्टी दिन्छौँ । सबै विदेशी लगानीलाई स्वदेशीसरह व्यवहार गर्छौँ । नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो । सबै क्षेत्र र ठाउँमा लगानी गर्न सकिन्छ । नेपालमा लगानी गरेर सुखी नेपाली समृद्ध नेपालको अभियानमा साझेदारी गर्नुहोस् ।
कांग्रेस सधैँ उदार छ,
विदेशी लगानीलाई सघाउँछ

रामशरण महत, पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता
अब नेपालले आफ्नो राष्ट्रिय शक्ति आर्थिक विकासमा लगाउनुपर्छ । उच्च आर्थिक वृद्धिका लागि स्वदेशी पुँजीले मात्रै पुग्दैन, त्यसैले विदेशको सार्वजनिक र निजी लगानी पनि आवश्यक पर्छ । सार्वजनिक क्षेत्रले पूर्वाधार र निजी क्षेत्रले उद्योग व्यवसायमा लगानी गर्नुपर्छ । नेपाल ग्रिनइनर्जी पावरहाउस बन्न सक्छ । यहाँ स्वास्थ्य, शिक्षा तथा खेलकुदका पूर्वाधारमा समेत लगानीको सम्भावना छ । क्रिकेटको राम्रो गन्तव्य बन्न सक्छ, नेपाल । नेपाली कांग्रेसले विदेशी लगानीलाई सघाउँछ । हामी सधैँ खुला प्रतिस्पर्धात्मक बजार, निजी क्षेत्रको विकास र विस्तारकै पक्षमा छौँ ।
लगानी सम्मेलन कोसेढुंगा साबित हुनेछ
अर्थमन्त्री डा. युवराज खतिवडा

नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार, कृषिलगायत क्षेत्रमा लगानीको अधिक सम्भावना छ । लगानीका लागि म विदेशी लगानीकर्ता तथा विकास साझेदारलाई आग्रह गर्छु । नेपालले लगानी प्रवद्र्धनका लागि कानुनी तथा प्रक्रियागत सुधार गरेको छ । स्वदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण बनेको छ । नेपाल नयाँ यात्रामा छ । तपाईँहरू जुन क्षेत्र वा ठाउँमा लगानी गर्न चाहनुहुन्छ, त्यो हामी उपलब्ध गराउँछौँ । औद्योगिकीकरण, निर्यात वृद्धि र आयात प्रतिस्थापनका लागि विदेशी लगानी र प्रविधिको खाँचो छ । लगानी सम्मेलनले नेपाल सरकार, नेपालको निजी क्षेत्र तथा विदेशको सार्वजनिक र निजी क्षेत्रबीच बुहपक्षीय नेटवर्क बनाउन महŒवपूर्ण अवसर दिनेछ । यो एउटा कोसेढुंगा साबित हुनेछ ।
‘नयाँ नेपाल’ उदाउँदै छ
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

नेपालले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाएको छ । नेपालको निजी क्षेत्र र सरकारबीच कुनै मतभेद छैन । आर्थिक तथा लगानीका नीतिमा कुनै भिन्नता छैन । सरकार निजी क्षेत्रसँगै छ । अहिले नेपाल नयाँ ढंगबाट अघि बढिरहेको छ । नयाँ नेपाल उदाइरहेको छ ।
एकद्वार सेवा दिन्छौँ लगानी गरेर नाफा लैजानुहोस्
उद्योगमन्त्री मातृकाप्रसाद यादव

पहिला हामी वैदेशिक लगानीसँग डराउँथ्यौँ । तर, अहिले हाम्रो मानसिकतामा परिवर्तन आएको छ । हामीले खुला भएर लगानीमैत्री विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएका छौँ । लगानीकर्तालाई हामी एकद्वार सेवा दिन्छौँ, नाफा र सुरक्षाको ग्यारेन्टी दिन्छौँ । नेपालमा लगानी गर्न आउनुहोस् ।
जलविद्युत्मा लगानीको वातावरण बनेको छ
वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री 

सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न आर्थिक समृद्धि प्राप्त गर्नुको विकल्प छैन । समृद्धिका लागि ऊर्जा क्षेत्र महŒवपूर्ण छ । नेपालमा प्रशस्त जलविद्युत् विकासको सम्भावना छ, सरकारले आउँदो १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । नेपालमा उत्पादन हुने जलविद्युत्को क्षेत्रीय तथा उपक्षेत्रीय बजारहरूसमेत खुला भइसकेको सन्दर्भमा नेपालको जलविद्युत्मा लगानी गर्ने राम्रो वातावरण बनेको छ ।
नेपालजस्तो प्रतिफल आउने अर्को ठाउँ छैन
सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष
राजनीतिक दलले आर्थिक विकासलाई चुनावी एजेन्डा बनाएका छन् । यहाँ लगानीका प्रशस्त क्षेत्र छन् र प्रतिफल पनि उच्च छ । नेपाल लगानीको प्रतिफलका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो । नेपालमा युनिलिभर, एनसेलजस्ता बहुराष्ट्रिय कम्पनीले लगानीको १ हजार प्रतिशतभन्दा बढी प्रतिफल लिन सफल भएका छन् । यस्तो प्रतिफल अन्त कहाँ पाइन्छ ?
हामी नेपाललाई सघाउन तत्पर छौँ
हार्टविग स्याफर, उपाध्यक्ष, विश्व बैंक
पछिल्लो समय नेपाल सरकारले कानुनी तथा प्रक्रियागत सुधार गरेको छ, जसले लगानीका लागि थप अनुकूल वातावरण निर्माण गरेको छ । विकासका लागि सार्वजनिक क्षेत्रको लगानी मात्रै पर्याप्त हुँदैन, त्यसैले निजी लगानीलाई प्रोत्साहन गर्नुपर्छ । नेपालले लिएको भिजन प्राप्तिलाई सघाउन हामी विकास साझेदार पनि यहीँ छौँ । नेपाल ठूला छिमेकीको बीचमा छ, यसबाट लाभ लिनुपर्छ । विश्व बैंक र नेपालको साझेदारी बलियो छ, यसले निरन्तरता पाउनेछ ।
लगानी बढाउँछौँ
सिजिन चेन, उपाध्यक्ष, एडिबी

राजनीतिक स्थायित्व प्राप्त गरेपछि नेपालले पहिलो लगानी सम्मेलन गरेको छ, यसले आर्थिक सुधारको संकेत गर्छ । नेपाल र एसियाली विकास बैंकबीच राम्रो सम्बन्ध छ । हालसम्म एडिबीले नेपालमा ६ अर्ब डलर लगानी गरिसकेको छ । मेलम्ची र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडिबीको लगानी छ । यस्तै, ठूला परियोजनामा थप लगानी गर्न एडिबी तयार छ ।
भरपर्दो लगानीलाई प्राथमिकता दिनुपर्छ
यू थाउङ टु, लगानी तथा विदेश
आर्थिक सम्बन्धमन्त्री, म्यानमार

नेपालमा साक्षरता बढ्दै गएको छ भने गरिबी घट्दै गएको छ । दक्षिण एसियामा आर्थिक वृद्धिदर बढ्दै गएको छ, नेपालले पनि राम्रो आर्थिक वृद्धि हासिल गरिरहेको छ । नेपाल र म्यानमार उस्तै छन् । नेपालले कृषिमा आधारित अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । दिगो र भरपर्दो लगानीलाई प्राथमिकतामा राख्नुपर्छ । एसियामा वैदेशिक लगानीको अवस्था निराशाजनक छ । हामीलाई विदेशी लगानी अत्यावश्यक छ । एसियामा नयाँ युग सुरु भएको छ । त्यसैले मौकाको फाइदा उठाउँदै लगानी गर्नुपर्छ ।

क–कसले गरे लगानीको घोषणा
सूर्य नेपालका प्रबन्ध–निर्देशक अभिमन्यु पोद्दारले करिब ६ अर्ब लागतमा लक्जरी होटेल खोल्ने घोषणा गरेका छन् । उपभोग्य सामग्रीमा समेत लगानी विस्तार गर्ने योजना रहेको उनले बताए । मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने बताए । मुथुटले नेपालको बैंक नै किन्न सक्नेसमेत बताए । उनले नेपालको शिक्षा क्षेत्रमा समेत लगानी गर्ने अवसर खोजिरहेको बताए ।

सुडानका लागि नेपालका अवैतनिक महावाणिज्यदूत अब्बास अलबखित माउसाले नेपालमा ठूलो होटेलमा लगानी गर्ने उद्घोष गरे । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा एचएच बजाजका प्रबन्ध–निर्देशक शेखर गोल्छाले अटोमोबाइलको एसेम्बलसँग सम्बन्धित उद्योग खोल्ने बताए । सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत साइक बोलसोभरले झापामा पाँचतारे होटल खोल्ने बताए ।

गेमचेन्जर परियोजनामा सम्झौता हुँदै
सरकार र विदेशी लगानीकर्ताबीच शनिबार करिब एक दर्जन परियोजनामा समझदारी तथा सम्झौता हुँदै छ । सार्वजनिक तथा निजी दुवै क्षेत्रका विदेशी लगानीकर्ताले कृषि, जलविद्युत् र सडक परियोजनामा लगानी सम्झौता गर्नेछन् । केही ‘गेमचेन्जर’ परियोजनामा लगानी गर्न विकास साझेदारसँग समझदारी (एमओयू) हुने लगानी बोर्ड सञ्चालक समितिका एक सदस्यले बताए ।

लगानी सम्मेलनबाट निजी क्षेत्र उत्साही
सम्मेलनमा निजी क्षेत्र उत्साही देखिएको छ । विषयगत छलफलमा पनि उनीहरूले उत्साहप्रद सहभागिता जनाएका छन् । उद्योगी प्रदीपकुमार श्रेष्ठले सम्मेलनबाट लगानीको माहोल बनेको बताए । शेखर गोल्छाले विश्वासको वातावरण बढाएको बताए । ‘नेपाल लगानीको प्रतिफलका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो, नेपालले यो कुरा लगानीकर्तालाई बुझाउन सक्नुपर्छ,’ उद्योगी सुरज वैद्यले भने । नयाँ पत्रिकाबाट

Facebook Comments Box