काठमाडौँ, ९ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनःसंरचना गर्ने विषयमा स्पष्ट खाका तयार गर्न निर्देशन दिनुभएको छ ।
नार्कको केन्द्रीय कार्यालय खुमलटारमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नार्कको पुनःसंरचनाका लागि गठित सुझाव उपसमितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनमाथि छलफल गर्दै उपसमितिलाई तत्काल एवं दीर्घकालमा के–के गर्नुपर्ने, त्यसका लागि आवश्यक योजना, जनशक्ति, बजेटलगायतका विषयमा स्पष्ट खाकासहित प्रतिवेदन तयार गर्नुपर्ने बताउनुभयो ।
“नार्कलाई मानित विश्वविद्यालयका रूपमा आवश्यकता र औचित्य कतिको छ ? यो किन चाहिन्छ ? स्पष्टरूपमा प्रतिवेदनमा आउनुपर्यो, यसको संरचना कस्तो हुने ?” मन्त्री भुसालले भन्नुभयो, “यस्तै कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोगलगायतको विषयमा कुरा उठेको छ, यी सबै विषयमा छलफल गरी आएको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्नुपर्ला ।”
उठेका विभिन्न विषयको सम्बोधन केवल मन्त्रालयले मात्रै गर्न नसक्ने भन्दै उहाँले कतिपय विषय मन्त्रिपरिषद्, संसद्, संसदीय समितिलगायतका ठाउँमा छलफल एवं पारित भएपछि मात्रै कार्यान्वयन हुनसक्ने बताउनुभयो । उहाँले ती विषय किन आवश्यक छन् भन्ने कुरा स्पष्टरूपमा उल्लेख हुनुपर्ने बताउनुभयो ।
नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले नार्ककै मातहतमा रहने गरी मानित विश्वविद्यालय अहिलेको आवश्यक्ता रहेको बताउनुभयो । नार्कलाई छुट्टै विश्वविद्यालयको मोडेलमा गठन नगरी नार्कअन्तर्गतका प्रतिष्ठानको मातहतमा हुने गरी मानित विश्वविद्यालय गठन गर्नुपर्ने उहाँको भनाइ थियो । त्यसैगरी कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोगलगायतका विषयमा समेत उहाँले आफ्नो धारणा राख्नुभयो ।
छलफलमा नार्कको पुनःसंरचनाका लागि गठन भएको सुझाव उपसमितिका संयोजक डा टेकबहादुर गुरुङले अहिलेसम्म भएको सम्पूर्ण प्रगतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
छलफलमा सहभागी प्रा डा दुर्गामणि गौतमले नार्कमा विषय विशेषज्ञको स्थायित्व, विषयगत अनुसन्धान केन्द्रको विकेन्द्रीकरण, कार्यकारी निर्देशकलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण र विश्वविद्यालयसँग नार्कको समन्वयमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।
सुझाव उपसमितिका अर्का सदस्य एवं कृषि मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले विद्यमान ऐनमा सुधार गरी अनुसन्धानको वातावरण बनाउन र अनुसन्धानकर्ताको मनोबल बढाउन विशेष योजनासहित दीर्घकालीनरूपमा मानित विश्वविद्यालयलाई समेत नार्कमा समेट्नुपर्ने बताउनुभयो ।