भक्तपुर, २८ चैत । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाली जनतालाई कृषिमा आत्मनिर्भर र स्वावलम्बी बनाउन राज्यले एउटा छुट्टै नीति बनाउनुपर्ने बताउनुभएको छ । आज खरिपाटीस्थित खरिपाटी डेरी प्रालीले सञ्चालनमा ल्याएको ‘मोबाइल रेफ्रिजेरेटेड भ्यान’ को उद्घाटन गर्दै उहाँले गुणस्तरीय उत्पादन र निर्यातमुखी बजारमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । कृषि क्षेत्रको उत्पादनलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा मन्त्री खनालले जोड दिनुभयो । उहाँले नेपालको उत्पादन प्रणाली परम्परागत, निर्वाहमुखी र काम चलाउ भएको बताउनुभयो । नेपाली किसानलाई मारमा पार्ने गरि कुनै पनि विदेशी वस्तु निर्यात गर्न नहुने उहाँको भनाइ थियो । “निर्यातमुखी मात्रै हुँदा देश कङ्गाल हुने अवस्थामा पुग्छ”, उहाँले भन्नुभयो, “नेपाली दूध गुणस्तरीय छैन भन्ने गुनासो आएको छ, यदि त्यसो हो भने गुणस्तर सुधारको शुरुआत सबैभन्दा पहिला सरकार मातहतको डिडिसीबाट गर्नुपर्छ । दूधको उत्पादन बढाऔँ, कृषकलाई मारमा पार्न दिन्नौँ ।” दूधमा सुधार ल्याउन जारी भएको डेरी निर्देशिकालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याइने मन्त्री खनालले बताउनुभयो । नेपालबाट रु ६ अर्बको गुणस्तरीय अलैँची विभिन्न देशमा निर्यात भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले दूध विक्रीवितरणलाई व्यवस्थित गर्न डेरी निर्देशिका ल्याइएको बताउनुभयो । खरिपाटी डेरीका कार्यकारी निर्देशक विश्वराम खड्काले डेरीले अहिले दैनिक १४ हजार लिटर दूध प्रशोधन गरिरहेको बताउनुभयो । रु ८० लाखको लागतमा दूध सुरक्षित राख्ने मोबाइल रेफिजेरेटेड भ्यान सञ्चालनमा ल्याइएको हो ।
