काठमाडौँ, १३ वैशाख । ‘एशिया प्रशान्त प्रसारण सङ्घ’ (एबियु) को पाँचौँ सम्मेलन ‘काठमाडौँ मिडिया कार्ययोजना’ जारी गर्दै सम्पन्न भएको छ । विपद्मा नागरिकलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह गर्न र सङ्कटबाट बचाउन मिडियाले खेल्ने भूमिका उजागर गर्ने उद्देश्यले बिहीबारदेखि यहाँ शुरु भएको सम्मेलन आज सम्पन्न भएको हो । कार्ययोजनामा एशिया प्रशान्त क्षेत्रका रेडियो टेलिभिजनबीचमा एकापसमा विपद्सँग सम्बन्धीत सूचना तथा जानकारी आदानप्रदान गर्ने, प्रसारण संस्थाबाट विपद् प्रकोप न्यूनीकरण र पूर्वतयारीका सम्बन्धमा सिर्जनात्मक कार्यक्रम उत्पादन गरी प्रसारण गर्नेलगायत विषय उल्लेख छन् । त्यस्तै जलवायु परिवर्तन र विपद् पूर्वतयारीका सम्बन्धमा यस क्षेत्रका आवाज विश्व मञ्चमा प्रभावकारी रुपमा सुनिने अपेक्षासमेत गरिएको छ । प्राकृतिक विपद्मा काम गर्ने विश्वका संस्थासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने, यस क्षेत्रमा प्रसारण संस्थाहरुले जलवायु परिवर्तनजन्य र अन्य प्राकृतिक विपद्बाट बच्न पूर्वतयारीका लागि आम जनसमुदायलाई सुसूचित गर्ने तथा सशक्त पार्ने कार्यायोजनामा उल्लेख छ । कार्ययोजनामा प्रसारण संस्थाहरुले विपद् व्यवस्थानको चरणहरु न्यूनीकरण, पूर्वतयारी, उद्धार र पुनस्र्थापनामा जनतालाई सशक्त बनाउन मिडियाले सक्दो भूमिका खेल्नुपर्ने र त्यसका लागि विभिन्न तवरले मिडियामा पनि क्षमता अभिवृद्धि गर्नुपर्नेलगायत विषयमा जोड दिइएको छ । एबियुले सन् २०२० मा जलवायु परिवर्तन र विपद्को पूर्वतयारी विषयमा छैटौँ सम्मेलन गर्न सरोकारवाला सबैलाई निमन्त्रणा गरेको छ । ‘एबियु’ एशिया प्रशान्त क्षेत्रका रेडियो र टेलिभिजन प्रसारणको संस्था होे । जलवायु परिवर्तन र विपद् पूर्वतयारीबारे सम्मेलन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना तथा एबियु, नेपाल टेलिभिजन र रेडियो नेपालको सहआयोजनामा भएको थियो । सम्मेलनमा विभिन्न विषयका विज्ञको सहभागितामा १० सत्र सञ्चालन भएका थिए । सम्मेलनमा विभिन्न देशका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी, विपद् व्यवस्थापन क्षेत्रमा सक्रिय विज्ञ, नीतिनिर्माण तहमा रही प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील सरकारी अधिकारी, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका व्यक्तिलगायतको सहभागिता थियो । सन् १९६४ मा स्थापना भएको ‘एवियु’ विश्वको ठूलो ब्रोडकास्ट युनियन हो । गैरनाफामूलक संस्थाका रुपमा रहेको एबियुमा विश्वका चार महादेशअन्तर्गतका ७६ देशका २७२ संस्था सदस्य छन् । नेपालबाट रेडियो नेपाल र नेपाल टेलिभिजन यसका मुख्य सदस्य छन् । सम्मेलनमा ४० देशका ७० विदेशी र नेपालबाट सरोकारवाला निकायका १०० भन्दा बढीको सहभागिता थियो ।
Facebook Comments Box