‘आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ’

आर्थिक समाचार

कर्णाली, २३ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।सुर्खेत उद्योग वाणिज्य सङ्घको आज आयोजित ४०आँै वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सृजना गर्न सकिन्छ । कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ ।”

मुख्यमन्त्री शर्माले निजी क्षेत्र, सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीनखम्बे अर्थनीतिलाई आत्मसात् गरिएको जनाउनुभयो । एकल नभई सबै मिलेर विकास, समृद्धि र रोजगारी सृजना गर्न प्रदेश सरकार साथमै रहेको जनाउँदै कर्णाली प्रदेश पछिपरेको नभई पछाडि पारिएको जिकिर गर्नुभयो ।

पटकपटक क्षतिपूर्तिसहितको बजेट र कार्यक्रम माग सङ्घीय सरकासँग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भन्नुभयो, “जनसङ्ख्याका आधारमा होइन, भूगोल, यहाँको वस्तुगत अवस्थाअनुसार नीति र बजेटसहित कर्णालीको विकास गरिनु पर्दछ । राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ ।” यहाँको विकासका लागि कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योग व्यवसायीहरुको साझा बुझाइ हुनुपर्नेमा उहाँको जोड थियो ।

कर्णालीको विकासलाई पर्यटनसँग जोड्न कर्णाली करिडोर, भेरी र राप्ती लोकमार्गको विकासमा जोड दिनुपर्ने बताउनुभएका उहाँले राजधानीसँग सिधै जोड्नेगरी यहाँ रहेका दश एयरपोर्टको स्तरवृद्धि र व्यवस्थापन ध्यान दिइएको जनाउनुभयो ।