काठमाडौँ, २३ मङ्सिर : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बालबालिकाको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभएको छ । सौगात मोन्टेसरी स्कुलद्वारा आज यहाँ आयोजित ‘सौगात आइकन २०८० सिजन ७’मा सम्बोधन गर्दै बालबालिकालाई सही समयमा सही वातावरण सृजना गरी उनीहरुको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भनाइ व्यक्त गर्नुभयो ।
“हामीले बालबच्चालाई जुन वातावरण दिन्छौँ । जुन संस्कार संस्कृति दिन्छौँ, सोहीअनुरुप व्यवहारमा देखाउने गर्छन् । भोलिका युवाको निर्धारण आजका बालबालिकाले गर्छन् । यसमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना बालबच्चा कस्ता बनाउने भनी अभिभावकले ध्यान दिनुपर्छ”, डा शर्माले भन्नुभयो ।
मोन्टेसरी स्कूल प्रमुख राज्य लक्ष्मी श्रेष्ठले यस्ता कार्यक्रमले बालबालिकाको सामाजिक व्यवहार र सीप विकासमा भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । विद्यालयले विसं २०७३ देखि बालबालिकाको नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास र सञ्चार कौशल सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विभिन्न नेपाली भेषभुषामा सांस्कृतिक नृत्य, फेसन शो, प्रश्नोतरमार्फत विद्यार्थीले प्रतिभा देखाएका थिए ।
कूल २१ विद्यार्थी सहभागी सो कार्यक्रममा छात्रातर्फ क्रिस्मा पन्थी र छात्रतर्फ निर्भिक गौतम उत्कृष्ट भएका छन् । फस्ट रनर अप आरभ यादव र सर्लिन श्रेष्ठ र सेकेन्ड रनर अप समिप सुवेदी र आभ्या गौतम भए । प्रतिस्पर्धामा सहभागी सम्पूर्ण विधार्थीलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
