‘बालबालिका र वृद्धवृद्धा जोगाउन गाह्रो’

आर्थिक समाचार स्वास्थ्य/शिक्षा

दोलखा, ५ पुस : दोलखाको बिगु गाउँपालिका–१ लप्चीका बासिन्दा सरकारले चीनसँगको लप्ची नाका खोलेपछि ठप्प भएको व्यापार व्यवसाय पुनः सञ्चालन हुने भन्दै खुसी भएका थिए ।

यतिबेला चिसो बढेकाले चिसोबाट बच्न बसाइँ सर्न बाध्य तिब्बतसँग सीमा जोडिएको लप्चीका बासिन्दालाई चितुवा र भालुबाट खाद्यान्न, घरपालुवा पशुका साथै बालबालिका र वृद्धवृद्धा जोगाउन मुस्किल भएको छ ।

बिगु–१ लामाबगरका वडाध्यक्ष मेम्बा तमाङले भन्नुभयो, “केही महिना अगाडि सरकारले चीनसँगको नाका खोल्यो । यहाँका नागरिक निकै खुसी थियौँं । अहिले चिसोले लप्ची नाकाको आसपासका नागरिक बसाइँसराइ गरिरहेका छन् । चिसोबाट बच्न लेकबाट बसाइँ सर्ने यहाँको पुरानो चलन हो ।” नागरिकका गुनासो पत्रकार समक्ष सुनाउन आफू सदरमुकाम चरिकोट आएको उहाँले बताउनुभयो ।

अध्यक्ष तमाङले भन्नुभयो, “चिसोबाट बच्न र चौरी चरणको लागि हिउँदे मौसममा बसाइँ सर्न बाध्य लप्चीका बासिन्दालाई चितुवा र भालुबाट खाद्यान्न, घरपालुवा पशु मात्रै होइन बालबालिका र वृद्धवृद्धा जोगाउनै मुस्किल भएको छ ।” उहाँका अनुसार लप्चीका बासिन्दा मङ्सिरको पहिलो सातादेखि चिसोबाट जोगिन र चौरीका लागि चरण क्षेत्रको खोजी गर्दै वडा नं १ कै लुम्नाङ झर्ने गर्छन् ।

बसाइँसराइको क्रममा भालु तथा चितुवाले आक्रमण गरी धेरै चौरी र घोडा मार्ने गरेको भन्दै वडाध्यक्ष तमाङले जङ्गली जनावरले मान्छेलाई पनि झम्टिने गरेको बताउनुभयो । भालुले वृद्धवृद्धा र बालबालिका मात्र भएको लप्चीका घरमा पसेर खाद्यान्न तथा घरपालुवा पशु खाइदिने गरेको भन्दै लखेट्न खोज्दा झन मानिसलाई नै झम्टने उहाँको भनाइ थियो ।

कोरोनापछि यस वर्षको दसैँतिहारबाट चीन सरकारले तिब्बतसँगको नाका खोलिदिएपछि स्थानीयवासीले चौरी, चौँरीको बाच्छा, घ्यू, छुर्पी बिक्री गरेर केही महिनालाई पुग्ने खाद्यान्नको जोहो गरेका स्थानीयवासी कर्मा शेर्पाले बताउनुभयो । किनमेल गरेका सामग्री जङ्गली जनावरले केही बाँकी नराखिदिने भन्दै बुढाबुढी तथा बालबालिका ज्यानै जाने त्रासमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

स्थानीयले बसाइँसराइ गरेको बेला घर कुरुवालाई ज्याला दियर राख्नुपर्ने भन्दै चितुवा र भालुको डरले कोही पनि बस्न नमान्ने शेर्पाले दुखेसो गर्नुभयो । उहाँका अनुसार लप्चीका घरमा रहेका खाद्यान्नका सामग्री भालुले खाइदिने गरेका छन् ।

हिउँदमा युवा चौरी लखेट्दै लुम्नाङ झर्नुपर्ने र लप्चीका घरमा बुढाबुढी तथा केही कुरुवा मात्र रहने भएकाले भालुले दुःखदिने गरेको स्थानीय तेम्बाछिरि शेर्पाले बताउनुभयो । यस क्षेत्रमा चितुवा तथा भालु देखिन थालेका भन्दै तिनको आक्रमणबाट घरपालुवा पशुका साथै चामल, तेल, स्योस्योलगायत खाद्यान्न जोगाउन मुस्किल परेको उहाँको भनाइ थियो ।

बिगु–१ लप्चीमा ४६ घरधुरीमा रहेका वडाध्यक्ष मेम्बा तमाङले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुमध्ये चौरीपालन गर्ने झण्डै १४ घरधुरीका बासिन्दा मङ्सिरदेखी चैतसम्म वडा नं १ को लुम्नाङमा बसाइँ सर्ने गर्छन् ।

गौरीशङ्कर संरक्षण क्षेत्रले जङ्गली जनावरले हानीनोक्सानी पुर्‍याए क्षतिपूर्ति दिने व्यवस्था गरे पनि संरक्षण क्षेत्रको कार्यालय र आफुहरु बस्ने ठाउँ निक्कै टाढा रहेकाले समयमै आवश्यक कागजात पुर्‍याउन नसक्दा समस्या हुने गरेको शेर्पाले बताउनुभयो ।

“यहाँ लप्ची गुम्बा पनि छ । बौद्ध धर्मालम्बीको आस्थाका रुपमा रहेको उक्त गुम्बामा बस्ने गुफा पनि छ”, वडाध्यक्ष तमाङले भन्नुभयो, “गुम्बामा एक सय २० जना लामा ध्यान गरेर बस्ने गरेका छन् ।” गुम्बामा ध्यान गर्न आउने र गुफा बस्ने धर्मगुरुलाईसमेत जङ्गली जनावरबाट असुुरक्षा महसुुस हुन थालेको उहाँले बताउनुभयो । वन्यजन्तु संरक्षणका नाममा नागरिक त्रासमा बाँच्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Facebook Comments Box