मोरङ, ५ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । रिडेफ नेपालद्वारा आज यहाँ आयोजित ‘प्रदेशको नीति तथा योजनामा दलित सरोकार’ विषयक अन्तरक्रियामा उहाँले विभेदरहित समाज निर्माणका लागि सरकारले सुरू गरेको मानवीय विकास अभियानले दलित लेख्ने अवस्था नरहने प्रष्ट पार्नुभयो ।
मुख्यमन्त्री कार्कीले परम्परागत सीपलाई प्राविधिक शिक्षाको रूपमा विकास गरी समाजमा रहेको पछौटे र गरिबी अन्त्य गर्ने बताउनुभयो । मुलुकमा समानता र विभेदरहित समाज निर्माणमा हामी सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकामा दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायत क्षेत्रमा सरकारले मानवीय विकास अभियान सुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले समाजमा आर्थिक अवस्था कमजोर हुँदै जाँदा विभेद सुरू हुने विचार राख्नुभयो ।
