‘सबै जातजाति र धर्मको सम्मान गर्नुपर्छ’

राजनीति समाचार

दमौली, १५ पुस : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै जातजाति र धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ । तमु ल्होसारको अवसरमा तमु ह्युल छोज धिं तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएकाले सबैको उत्तिकै सम्मान हुनुपर्ने बताउनुभयो ।

एउटा धर्म र एउटा जातिले अर्को धर्म र जातिलाई सम्मान र आदर गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले एउटा धर्म मान्दै गर्दा अर्को धर्मको अपमान गर्नुहुँदैन । अरु जातिलाई होच्याउन हुँदैन ।” मन्त्री गुरुङले विविधता नेपालको गहना र सम्पत्ति भएको उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले हरेक जातिले आफ्नो भाषाको परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको हरेक आन्दोलनमा गुरुङलगायत सबै जातजातिको महत्त्वपूर्ण भूमिका छ । सबै जातजातिबीच एकता हुनुपर्छ ।”

मन्त्री गुरुङले मिहिनेत नगर्ने तर नेपालको उच्च पदमा गुरुङको प्रतिनिधित्व भएन भनेर मात्रै गुनासो नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मिहिनेत गरेमा गुरुङ पनि नेपालको राजनीति र कर्मचारीतन्त्रको उच्च ठाउँमा पुग्न सक्छन् ।”

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य सरिता गुरुङले सबै जातजातिले समान हक अधिकार पाउने संविधानमा उल्लेख भएपनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संस्कृति बचाउने अभियानमा गुरुङको सहयोग रहँदै आएको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सुजित हिराचनले गुरुङ समुदायले देशका लागि पु¥याएको योगदान उदाहरणीय रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गुरुङ जाति कला र संस्कृतिमा धनी रहेको चर्चा गर्नुभयो ।