सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ मनाइयो

आर्थिक कृषि समाचार

चैनपुर (बझाङ) १५ पुस : आज पुस १५ गते उत्तरायणको सुरूआत । यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ । वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन् ।

पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ । केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ ।

संस्कृतिका जानकार विष्णुभक्त जोशी भन्नुहुन्छ, “आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरूआत भएको कुरालाई अथ्र्याउने गर्दछन् ।” लामो दिनहरू सुरू हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे पानी तथा हिमपात भएर खेतीपाती सपर्ने, नयाँ दिनको सुरूवात हुने हुँदा सुदूरपश्चिमबासीले यो पर्व मनाउने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पुसे पन्ध्र सुदूरमा मात्रै नभएर मध्यपश्चिममा पनि मनाउने गर्दछन् । कतिपय समुदायमा १५ गते भएकोले १५ वटै परिकार बनाएर खाने गरेको उहाँले बताउनुभयो । वित्थडचिर गाउँपालिकाका महेश विष्ट पनि पुसे पन्ध्र विशेष पर्व भएको बताउनुहुन्छ । दिदी बहिनी माइती आउनेदेखि घर परिवारमा नयाँ नयाँ परिकार बनाएर नयाँ दिनलाई स्वागत गर्नका लागि यो पर्व मनाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आज राति प्रत्येकको घरघरमा निसास्या (चामल पिठोको ठूलो रोटी) पकाएर खाने, वृद्धवृद्धाबाट लोक कथा, दन्त्य कथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ । विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनी फल्ने कुरालाई खाने चलन छ ।”

उहाँका अनुसार यसरी खाँदा जाडो भाग्ने र शरीरमा फुर्तिलो हुने विश्वासले पनि रातभर जाग्राम बस्दै खाने किम्वदन्ती छ । सुदूरपश्चिममा कुनै ठाउँमा पुसे पन्ध्रका दिन वन पूजा गर्ने चलन पनि छ । खप्तडछान्ना–४ का हेमराज जोशीले भन्नुभयो, “आजको दिन कृषि औजार बञ्चरो, हँसिया, नाम्लो आदिको पनि पूजासमेत गरिन्छ । आजको दिन वन पुजा गर्दा काम गर्ने बेलामा चोटपटक नलाग्ने विश्वास रही आएको छ ।”

उहाँका अनुसार पुस पन्ध्रलाई मानव संस्कृति र सभ्यताको अभिन्न अङ्कका रुपमा पनि व्याख्या गर्दछन् । रातभर खेलिने डेउडा खेलमा सभ्यता, संस्कृति, पहिचान, रितीरिवाजसँग सम्बन्धित रहेर देउडाका सवाल जवाफ हुने उहाँले बताउनुभयो ।