खोटाङ, १७ पुस : नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार हरिहर विरहीले नेपाली पत्रकारितालाई शुद्धिकरण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । खोटाङको दिक्तेलमा क्रियाशील सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले लोकतन्त्रपछि नेपाली पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा भएकाले शुद्धिकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ पत्रकार विरहीले केही सञ्चारकर्मीका कारण समाजमा नकारात्मक प्रभाव सृर्जना हुँदै गएको बताउनुभयो । “लोकतन्त्रपछि नेपाली पत्रकारितामा शुद्धता आउन सकेन । नेपाली पत्रकारितामा शुद्धता आवश्यक छ”, उहाँले भन्नुभयो, “पत्रकारिता पेशामा आबद्ध सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । नैतिक मूल्यमान्यता कायम राख्नुपर्छ । नेपाली पत्रकारितालाई विश्वसनीय बनाउनुपर्ने अवस्था छ ।”
नेपालको पत्रकारिता पेशाप्रति नेपाली नागरिकको विश्वसनीयता घट्दै गएको उल्लेख गर्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो । “यसतर्फ नेपाल पत्रकार महासङ्घ तथा पेशागत सङ्घ÷सङ्ठनले ध्यान दिन जरुरी छ”, वरिष्ठ पत्रकार विरीहीले भन्नुभयो, “नेपाल पत्रकार महासङ्घ तथा पेशागत सङ्घ÷सङ्गठनले सङ्ख्यामा होइन, गुणस्तर वृद्धिमा ध्यान दिन जरुरी छ । पत्रकार स्वयम्ले पनि आफ्नो क्षमता वृद्धि गर्नुपर्छ ।”
नेपाली पत्रकारले क्षमता, शुद्धता र विश्वसनीयता कायम राख्नसक्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सञ्चारकर्मी भनेका समाजका अशल नागरिक हुन् भन्ने भावना नागरिकमा प्रकट हुने किसिमले काम गर्न सक्नुपर्छ । प्रेस अभिव्यक्ति स्वतन्त्रता कायम राख्न सबै पत्रकार सङ्घ÷सङ्गठन अग्रसर हुनुपर्छ”, वरिष्ठ पत्रकार विरहीले भन्नुभयो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कृष आचार्य, पत्रकार महासङ्घ खोटाङका पूर्व अध्यक्ष दमन राई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईं तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको उपस्थिति थियो ।
