भेरीगङ्गा (सुर्खेत) १९ पुस : सरकारले बनाउने नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रले आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘अपाङ्गता र लैङ्गिक उत्तरदायी बजेट तथा कार्यक्रम तर्जुमाका लागि क्षमता विकास तालिम’मा सहभागी सरोकारवालाले यस्तो जोड दिएका हुन् ।
उनीहरुले तिनै तहका सरकारले बनाउने नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिका विषय भनेअनुसार समेटिन नसकेको भन्दै आगामी योजनामा अर्थपूर्ण सहभागिता गराइनुपर्नेमा जोड दिएका हुन् । तालिमको मुख्य प्रशिक्षकको रुपमा रहनुभएका कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै त्यसका लागि यो तालिम आयोजना गरिएको बताउनुभयो । अहिले हरेक पालिकामा अपाङ्गता समन्वय समिति रहेको भन्दै उक्त समितिमार्फत अपाङ्गता भएका व्यक्तिका समस्या समाधानको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
गहतराजले समन्वय समितिले लैङ्गिक उत्तरदायी सम्बन्धी क्षमता विकास गर्नु आवश्यक रहेको औँल्याउनुभयो । वीरेन्द्रनगर अपाङ्गता समन्वय समितिका पदाधिकारीले अपाङ्गता भएका व्यक्तिका विभिन्न समस्या रहेको भन्दै यसको समाधान नीति निर्माण तहबाट नै गर्नुपर्नेमा जोड दिएका छन् । समितिका सदस्य तुलसी बुढाले सबैभन्दा ठूलो समस्या परिचयपत्र वितरणमा देखिएको भन्दै कार्यविधि संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिमा दोभाषेको अभाव भएकाले बहिरा व्यक्तिका समस्या समाधानमा थप जटिलता भइरहेको उहाँको भनाइ थियो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले स्थानीय सरकारको नीति कार्यक्रम र बजेट बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराई समावेशी बजेट निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले कानुन अभावमा यी समस्या नदेखिएको भन्दै बनेका कानुन कार्यान्वयन नहुँदा समस्या देखिएको बताउनुभयो ।
प्रदेशसभा सदस्य एवम् कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आफूसँग भएका क्षमताको प्रयोग गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै सरकारले ल्याउने नीति कार्यक्रम र बजेटलाई समावेशी बनाएर कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिले पनि बजेट कार्यान्वयनमा ठूलो समस्या देखिएको उल्लेख गर्नुभयो ।
अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रका अध्यक्ष विष्णु भट्टराइले सबै समुदाय र वर्गको समान सहभागिताका लागि नीति तथा कार्यक्रम बनाउँदा सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले अपाङ्गता समन्वय समितिलाई थप प्रभावकारी बनाउँदै लैजानेगरी तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिममा वीरेन्द्रनगर अपाङ्गता समन्वय समिति पदाधिकारीसहित जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारीको सहभागिता छ । तालिम भोलिसम्म सञ्चालन हुनेछ
