सेती अस्पतालद्वारा सिकलसेलको निःशुल्क परीक्षण शिविर

आर्थिक समाचार स्वास्थ्य/शिक्षा

अत्तरिया (कैलाली) ६ माघ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमिया तथा थाइलेसिमिया निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ ।

अस्पतालले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आजदेखि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको हो । विशेष गरी थारु समुदायमा देखिने यो रोग बढी प्रभावित क्षेत्र आँकलन गरेर शिविर सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा शेरबहादुर कमरले बताउनुभयो ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने र यसबाट थारु समुदाय बढी प्रभावित भएको उहाँले बताउनुभयो । “सिकलसेल एनिमिया वंशाणुगत रोग हो”, उहाँले भन्नुभयो, “सिकलसेल आमाबुवा दुवैमा छ भने उहाँहरुबाट जन्मिएका सबै सन्तानमा हुने सम्भावना बढी हुन्छ ।”

“यो रोग ९९ प्रतिशत थारु समुदायमा देखिने गरेको छ”, उहाँले भन्नुभयो, “थारु समुदायका शङ्का लागेका सबै उमेर समूहकाले शिविरमा रगत परीक्षण गर्न सक्नुहुन्छ । अन्य समुदायका मान्छेमा पनि शङ्का लागेको छ भने परीक्षण गर्न सक्नुहुन्छ ।”

सेती अस्पतालमा पनि हाल सिकलसेलको निःशुल्क परीक्षण हुने गरेको उहाँले बताउनुभयो । अस्पतालमा हालसम्म नौ सय १४ जना सिकलसेल एनिमियाका बिरामी दर्ता भएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७१÷७२ बाट यो कार्यक्रम सुरु भएको हो । हालसम्म कैलाली र कञ्चनपुरका गरी नौ सय १४ बिरामी दर्ता भएका छन् ।”

दर्ता भएका सबै बिरामीले औषधि सेवन गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “औषधि फरक–फरक हुन्छ । दुखाइको औषधि सबैले सेवन गरिरहेका हुन्छन् ।”

थारु समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यो थारु समुदायमा बढी देखिने रोग हो । जो अस्पतालसम्म आउन नसक्ने छन्, उहाँहरुको समुदायस्तरमै गएर जाँच गर्ने हाम्रो योजना हो ।”

आगामी दिनमा जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि यसरी नै शिविर सञ्चालन गरिने उहाँको भनाइ थियो । प्रदेश सरकारको सहयोग तथा धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा २ दिने शिविर सञ्चालन गरिएको अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार शिविर माघ ७ गते (आइतबार) वडा नं. १७ धुर्जन्नामा सञ्चालन हुनेछ ।

Facebook Comments Box