काठमाडौँ, ५ फागुन : उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनको आज उद्घाटनमा उहाँहरुले समय सापेक्ष नीति परिमार्जन हुनुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजस्व परामर्श समिति र सरकारका अन्य समितिमार्फत व्यवसायीलाई परेको समस्या समाधानका चेम्बरले अग्रणी भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । “समयअनुसार ऐन परिवर्तन हुँदै जानुपर्छ, उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधानमा व्यवसायी एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले छिमेकी मुलुक भारतसँग रु चार खर्ब १४ अर्ब र चीनसँग एक खर्ब ४५ अर्ब व्यापारघाटा रहेको भन्दै निर्यात प्रवर्द्धनमा जोड दिनुभयो । उहाँले व्यापारिक वृद्धिका लागि सामूहिक लगानीलाई बढावा दिनुपर्ने भन्दै लगानीमैत्री वातावरण निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले नयाँ पुस्तालाई उद्योग–व्यवसायमा लगाउन सकिएमात्र देशको विकास हुने बताउनुभयो । उहाँले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । डा नेपालले क्षमतावान, बुद्धिमान र जोखिम मोल्न सकेमात्र व्यापार अगाडि बढाउन सकिने बताउनुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंकको चर्को ब्याजदरका कारण व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले कर्जा प्रवाहको ब्याजदर एकल अङ्कमा ल्याउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।
नेपाल उद्योग सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले करका दर र त्यसका शीर्षकलाई सीमित बनाउन सरकार लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले व्यावसायिक दर्ता र कर एक ठाउँमा मात्र गर्ने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गर्नुभयो ।
राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की, राष्ट्रिय व्यापार सङ्घका महासचिव बैकुण्ठ दाहाललगायतले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको साना तथा मझौला व्यवसायीलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रिय व्यापार सङ्घको अध्यक्षमा खराल
राष्ट्रिय व्यापार सङ्घका अध्यक्षमा हिमलाल खराल निर्वाचित हुनुभएको छ । सङ्घको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनबाट खरालकोे अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सङ्घको प्रथम उपाध्यक्षमा रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्षमा पदमबहादुर लामिछाने, तृतीय उपाध्यक्षमा बैकुण्ठ दाहाल, महासचिवमा केदारप्रसाद न्यौपाने, कोषाध्यक्षमा हरिप्रसाद पाण्डेय, सचिवमा सञ्जयकुमार अग्रवाल, सहकोषाध्यक्षमा विनोद तिमल्सिना र सहसचविमा मोहनीलाल न्यौपाने निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यमा श्यामसुन्दर माकाजु, विनोद भण्डारी, महेन्द्र भण्डारी, सुनिल अग्रवाल, प्रवीण अग्रवाल, नारायणप्रसाद न्यौपाने, लेखनाथ गौतम, सन्तोष श्रेष्ठ, राजु कार्की र भीष्म केसी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दीक्षा पण्डित क्षेत्रीले जानकारी दिनुभयो ।
