अत्तरिया (कैलाली), ८ फागुन : सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले सुशासनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वर्षिकोत्सवको सन्दर्भमा रासस सुदूरपश्चिम प्रदेश कार्यालयले आज धनगढीमा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख भण्डारीले सुशासनमा राससलगायत सञ्चारमाध्यमको उल्लेख्य भूमिका रहने बताउनुभयो । उहाँले देशलाई प्रगति र उन्नतिको दिशामा अगाडि बढाउन समस्याको पहिचान गरेर राज्यको चौथौ अङ्गको रुपमा रहेको सञ्चार जगतले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
“नीतिगत तथा कानुनी रुपमा भएका समस्याको विषयमा कलम चलाउनुपर्ने समय आएको छ”, सभामुख भण्डारीले भन्नुभयो, “समस्या भएका ठाउँ पहिचान गरेर छलफल चलाउनुपर्छ ।” भीडले शासन गर्ने पद्धतिको विकास भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा मिडियाले सही गलत छुट्टयाउन भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले सञ्चारमाध्यमको भूमिकाका कारण देशमा गणतन्त्रात्मक व्यवस्था सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको विकास र समृद्धिका लागि राससलगायत मिडियाले भूमिका निर्वाह गर्नुपर्छ ।” मन्त्री धामीले पत्रकारले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमले जनता र राष्ट्रलाई सुसुचित गराउन मिडियाले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सुशासनपछि मात्रै समृद्धि आउने भएकाले रासस तथा अन्य सञ्चारमाध्यमले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । सञ्चारको खबरदारीले सुशासन कायम भइ समृद्धि आउने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह र कैलाली शाखाका अध्यक्ष हिमाल जोशीले राससको सान्दर्भिकता र महत्व बढ्दै गएको बताउनुभयो । रासस सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सिद्धराज भट्टले राससका गतिविधिबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
