भेरीगङ्गा (सुर्खेत), ४ चैत : कर्णालीका विभिन्न सरकारी कार्यालयबाट दिइने सेवामा बहिरा अपाङ्गता भएका व्यक्तिको सजह पहुँच पु¥याउन पहल थालिएको छ । कर्णालीका केही सरकारी कार्यालयमा साङ्केतिक भाषामा सेवा प्रवाह हुने गरी पहल थालिएको हो ।
त्यसले बहिरा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । त्यसका लागि विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई साङ्केतिक भाषासम्बन्धीको तालिम दिन सुरु गरिएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा आर्थिक सहयोगमा भेरी बहिरा सङ्घ सुर्खेतको आयोजनामा तीन महिने साङ्केतिक भाषा दोभासे तालिम आजदेखि सुरु भएको हो । साङ्केतिक भाषाको अभावका कारण बहिरा अपाङ्गता भएका व्यक्तिको सरकारी सेवाको पहुँच नपुगेको भन्दै सूचनाका पहुँचमा उनीलाई पु¥याउनुपर्ने माग हुँदै आएको थियो । अब यो तालिमबाट बहिरा अपाङ्गता भएका व्यक्ति राज्यको पहुँचमा पुग्न सहज हुने अपेक्षा लिइएको छ ।
तालिम उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले ठूलाठूला बाटो र भवन बन्नु मात्रै विकास नभएको भन्दै मानव विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “हाम्रो समाजको सोच के छ भने ठूल्ठूला बाटो ठूल्ठूला घर बनाए मात्रै विकास मानिन्छ, तर हरेक व्यक्ति, हरेक समुदायलाई सबल र सक्षम बनाउन सके मात्रै समाज समृद्ध बन्छ”, उहाँले भन्नुभयो, “साङ्केतिक भाषासम्बन्धी तालिम हरेक कार्यालयका कर्मचारीलाई दिन आवश्यक छ, तपाईंहरूलाई म भन्छु हाम्रो नगरपालिकामा अब साङ्केतिक भाषामा समेत सेवा दिनेगरी लाग्छौँ ।”
उहाँले बहिरा अपाङ्गता व्यक्तिका लागि अब हरेक कार्यालयमा साङ्केतिक भाषा आवश्यक रहेको भन्दै यससम्बन्धी तालिम सबै ठाउँमा आवश्यक रहेको बताउनुभयो । नगर उपप्रमुख खनालले वीरेन्द्रनगरभित्र साङ्केतिक भाषाबाट सेवा दिनेगरी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा महिला अधिकृत अनिता ज्ञवालीले साङ्केतिक भाषा विश्व भाषा भएको भन्दै सबैलाई सूचनाको पहुँचमा लिन सके मात्रै सरकारी सेवा दिन सहज हुने बताउनुभयो ।
“हामीले एक पटक चीन भ्रमणमा जाने अवसर पाएका थियौँ, भ्रमणका बेला चाइना र हङकङको सिमानामा पुगेपछि हामीले लोकेसन थाहा नपाएर हरायौँ, अनि त्यहाँमा मानिस नेपाली र अङ्ग्रेजी नबुझ्ने अनि हामीले चाइनिज भाषा नबुझ्दा धेरै ठूलो समस्या भयो, अनि मलाई त्यतिबेला साङ्केतिक भाषाको महत्व धेरै भएको लाग्यो, साङ्केतिक र मुस्कान विश्व भाषा हो”, उहाँले भन्नुभयो ।
सरकारी सेवा लिन जाँदा बहिरा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न नसकेका बेला यो तालिमले अब सहजता ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब लोक सेवा आयोगले परीक्षा लिँदा साङ्केतिक भाषालाई प्रयोगात्मक राख्नुपर्ने ज्ञवालीले सुझाव दिनुभयो ।
भेरी बहिरा सङ्घका अध्यक्ष नम्रता भारतीले सरकारी कार्यालयमा साङ्केतिक भाषामा सेवा प्रवाह नहुँदा आफूहरू सरकारी सेवाको पहुँचबाट वञ्चित हुनुपरेको जनाउँदै कर्मचारीले यो भाषा तालिम सिकेर सेवामा आफूहरूको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले साङ्केतिक भाषाबाट हरेक कार्यालयबाट सेवा दिन आवश्यक रहेको औँल्याउँदै गाउँ गाउँसम्म साङ्केतिक भाषाको तालिम दिनुपर्ने माग गर्नुभयो । आफूहरूजस्ता बहिरा अपाङ्गता भएका व्यक्तिको पहुँच हरेक क्षेत्रमा पुग्ने उहाँको भनाइ छ ।
तालिममा वीरेन्द्रनगरका विभिन्न वडाका कर्मचारी, जिल्ला अदालत सुर्खेत, जिल्ला प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालयलगायत कार्यालयका १६ कर्मचारी सहभागी भएका छन् ।