काठमाडौँ, ३ वैशाख ः पूर्वउपराष्ट्रपति परमानन्द झाले दल र नेताको विकासलाई देशको प्रगति ठान्ने गलत प्रवृत्ति भएको बताउनुभएको छ । दिशानिर्देश प्रेस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रम उहाँले देश विकासका लागि राजनीति सहकार्य र एकताको खाँचो औल्याउनुभयो ।
कार्यक्रममा ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर’ र ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षा गर’ विषयमा छलफल गरिएको थियो । उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देशक राष्ट्रिय साप्ताहिक, दिशानिर्देशक प्रेस क्लबको २१औँ वार्षिकोत्सवमा आयोजित सो कार्यक्रमका सहभागीले प्रेसको पक्षमा सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वयन गर्न माग गरेका थिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेशकुमार पौडेल, प्रेमबहादुर खड्का र गोपालकृष्ण घिमिरेले न्यायपालिकाको फैसला सरकारले कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।
