ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘कला संवाद’

समाचार साहित्य स्वास्थ्य/शिक्षा

काठमाडौँ, २६ वैशाख ः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज नेपालका लागि बङ्गलादेशी राजदूत र बङ्गलादेशी कलाकारसँग ‘कला संवाद’ आयोजना गरिएको छ । ‘फ्रम माउन्टेन टु द डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आएका बङ्गलादेशी कलाकारसँगै नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीको सहभागितामा कला र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले संवाद आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।

उक्त अन्तक्र्रिया कार्यक्रममा राजदूत चौधरीले नेपाल र बङ्गलादेशको सम्बन्ध उच्चस्तरको रहेको बताउनुभयो । उहाँले दुई देशको दौत्य सम्बन्धको चर्चा गर्दै दुई देशका कला अद्वितीय रहेको विचार व्यक्त गर्दै दुई देशबीच भइरहने कला गतिविधिले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्दै आएको बताउनुभयो ।

कार्यक्रममा बङ्गलादेशका अग्रज कलाकारको समेत सहभागिता रहेको थियो । सो क्रममा उहाँहरुले नेपाल भ्रमणको अनुभव, बङ्गलादेशको कला, नेपालसँगको सम्बन्धसँगै कलाका अन्य विविध आयामका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपालका अग्रज कलाकार शशीविक्रम शाहले नेपाल र बङ्गलादेशका कलाकारको प्रदर्शनी र छलफलले दुई देशको कलालाई नजिकबाट नियाल्न मद्दत मिलेको बताउनुभयो । उहाँले बङ्गलादेशसँगको आफ्नो कलायात्राका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला संस्कृतिको आदानप्रदानले सम्बन्धलाई समेत प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयो । सो क्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामा, अरुणा हिङ्माङ, सौरगङ्गा दर्शनधारीलगायतको सहभागिता थियो ।

Facebook Comments Box