काठमाडौँ, १० जेठ ः काठमाडौँको बौद्धमा २५६८औँ बुद्ध जयन्तीका अवसर पारेर आजदेखि कला प्रदर्शनी सुरु भएको छ ।बुद्धका विभिन्न आयामलाई कलामा समेटेर प्रदर्शनी थालिएको र उक्त प्रदर्शनीबाट आएको रकमको केही प्रतिशत असहायका लागि सहयोग गरिने आयोजक प्रतिनिधि आर्ट बुमका अध्यक्ष रत्न शाक्यले जानकारी दिनुभयो ।
यहाँ ५ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा २० जना कलाकारले बनाएको ३० वटा सिर्जनाले स्थान पाएको छ । प्रदर्शनी आर्ट बुम, द स्प्रिचुअल आर्टस् र ललितकला गुठी तथा एला आर्ट ग्यालरीको संयुक्त आयोजनामा सुरु भएको हो ।
सेवाभाव राखेर आयोजना गरिएको यो प्रदर्शनीको उद्देश्य हिंसात्मक बाटोमा गइरहेको विश्व समुदायका लागि शान्ति र करुणाको सन्देश दिने प्रयास पनि रहेको आर्ट बुमका अध्यक्षसमेत रहनुभएका शाक्यले जानकारी दिनुभयो ।प्रदर्शनीमा अग्रजदेखि नवकलाकारका सिर्जना समेटिएको छ । यसपटक बुद्ध भगवानका विषयमा नै काम गरिएको उहाँले बताउनुभयो । शाक्यले भन्नुभयो, “हामी कलाकारले विभिन्न चाडवार्ड तथा उत्सवमा आर्टमार्फत प्रस्तुत गर्न सक्छौँ, शिवरात्रिमा शिवको, होलीको समयमा रङका विषयमा कला गतिविधि गर्ने गरिएको छ ।
सोही अनुसार यसपटक बुद्धजयन्ती रहेकाले बुद्ध भगवानसँग केन्द्रित कला प्रदर्शनी थालिएको हो ।”यो समूहसँग यसअघि एक्लै र सामूहिकरुपमा राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय काम गरिसकेको अनुभव छ । उक्त समूहले सात महिनाअघि मात्रै नेपाल, बङ्गलादेश, फ्रान्स, भारत र बेलायतका कलाकार बोलाएर कार्यशाला र प्रदर्शनी गरिसकेको छ ।
“यो आर्ट गतिविधि गरेर अघि बढिरहेको युवा कलाकारको समूह हो । हामी आर्ट नै गर्ने हो, हाम्रो अरु पेसा छैन, समाजका विषय उठान गर्दै नेपाली कला संस्कृति चिनाउन कलामार्फत योगदान दिँदै आएका छौँ”, ललितकला गुठी तथा एला आर्ट ग्यालरीका अध्यक्ष उत्तम डङ्गोलले भन्नुभयो ।
उहाँले यहाँबाट आएको आम्दानीको केही प्रतिशत बेसहाराका लागि सहयोग गर्ने बताउनुभयो । द स्प्रिचुअल आर्टस्का अध्यक्ष सजिव शाक्यले पवित्र उद्देश्यसहितको प्रदर्शनी भएकाले पनि थप उत्साहित रहेको बताउनुभयो ।
सन्सारमा युद्ध भइरहेको छ । स्वार्थको राजनीति र द्वन्द्व चर्किरहेको छ । बुद्धको सन्देश माया, प्रेम, करुणा, मैत्री अहिंसा हराउँदै गएको हो की भन्ने अनुभव त्यहाँबाट हुन्छ । मनिसहरु आफ्नो फाइदाका लागि मात्रै काम गरिरहेका छन् । राम्रा काम अवशेषको रुपमा देखिने बेला भयो । त्यसैले करुणामैत्री कामलाई आत्मसाथ गर्दै केही सन्देश जान सक्ला की भनेर यसपटक बुद्धजयन्तीका अवसर पारेर कला प्रस्तुत गरिएको आर्ट बुमका अध्यक्ष रत्न शाक्यले बताउनुभयो ।
–––
