प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु

आर्थिक समाचार

गोरखा, १० जेठ : नेपालको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २१औँ सवा लाख रोट महोत्सव सुरु भएको हो । रोटलाई गुरु गोरखानाथको मनपर्ने खाद्यपरिकारको रुपमा लिइन्छ । ११ दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमको अवसरमा सदरमुकामको हरमटारी चोकदेखि गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो ।

त्यस्तै स्थानीय कला, संस्कृति र पहिचान झल्कने खालका झाँकीसहितको ¥याली समेत निकालिएको उहाँको भनाइ छ । ‘‘गोरखानाथको मन्दिरमा रोट दैनिक रुपमा चढाउने प्रचलन रहेपनि गएको २१ वर्षदेखि यसलाई महोत्सवको रुपमा अगाडि बढाउन थालिएको छ, उहाँले भन्नुभयो, ‘‘महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ ।’’

गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेकाले गोरखाको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहदै आएको छ । ‘‘चामलको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका ५२ प्रकारका मसला ध्यूमा मिसाएर ध्यूमा पकाइन्छ, संयोजक अकेलाले भन्नुभयो, ‘‘सानो आकारमा तयार गरिने रोट नाथ प्रजातीका व्यक्तिले शुद्ध भएर मन्त्र जप गरी बिचको भागमा उठाएर बनाइएको हुन्छ ।’’

तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादको रुपमा एउटा रोट र एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाइ लड्न सकेको भन्ने भनाइ छ । त्यसैले रोटलाई शक्ति प्रवर्द्धन खाद्य परिकारको रुपमा लिइन्छ । महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । यसपटक करिब ४० हजारभन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न रु २१ लाख खर्च लाग्ने संयोजक अकेलाले जानकारी दिनुभयो ।