काठमाडौँ, १६ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिकरूपमा सम्पन्न बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ आज छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोह आयोजना गरेको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै उहाँले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने बताउनुभएको हो ।
उहाँले अझै राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई न्यून बजेट दिने गरिएको गुनासो गर्नुभयो । बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहे पनि बजेट आउँदा त्यसरी नआएको उहाँको गुनासो थियो ।
महिला अधिकारलाई संस्थागत गरेको दिनका रूपमा जेठ १६ गतेलाई महिला दिवसको रुपमा मनाउने गरिएको र संविधानसभामा सबै महिलाले ‘ककस’ निर्माण गरेर महिला अधिकारलाई संस्थागत गराउन एकजुट भएर काम गरेको बताउनुभयो । “त्यतिबेला महिला एकदमै सक्रिय हुनुहुन्थ्यो जसका कारण हामीले संविधानमा महिलाका अधिकार सुनिश्चित गर्न सफल भयौँ”, मन्त्री चौधरीले भन्नुभयो, “यो नतिजा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत अग्रज महिलाको योगदानका कारण सम्भव भएको हो । राजनीतिकरूपमा सफलता हासिल भएको छ । जुन कुरा संविधानमै सुनिश्चित गरिएको छ ।”
मन्त्री चौधरीले दिवसले महिला अधिकारको सुनिश्चितता गर्दै लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । “लैङ्गिक हिंसा, घरेलु हिंसा तथा गरिबीका कारण जीवनयापनमा जटिलता थपिएको छ । महिला आत्मनिर्भर नभएसम्म र उनीहरूको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन”, मन्त्री चौधरीले भन्नुभयो, “यसका लागि महिलामा उद्यमशीलताको विकास गर्न जरुरी भएकाले मन्त्रालयले यसतर्फ आवश्यक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।”
कार्यक्रममा मन्त्रालयका सचिव दिनेश भट्टराईले २०६३ साल जेठ १६ गतेको निर्णयबाट महिलाले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई उत्सवको रूपमा मनाउन जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिनुभयो । साथै उत्कृष्ट महिला उद्यमीलाई महिला उद्यमी सम्मानबाट सम्मान गरिने कार्यको थालनी गरिएको उहाँले बताउनुभयो ।
पाँच जना महिला उद्यमी पुरस्कृत
सोही अवसरमा पाँच जना महिला उद्यमीलाई पुरस्कृत गरिएको छ । कोशी प्रदेशबाट उर्लाबारी नगरपालिका-७ मोरङस्थित निरू ढाका कपडा उद्योगका सञ्चालक निर्मला चौहान, मधेश प्रदेशबाट कलैया उपमहानगरपालिका-१६ बारास्थित जय माता दि कपास उद्योगका सञ्चालक बबिताकुमारी तेली, बागमती प्रदेशबाट ललितपुर नगरपालिका-२४ ललितपुरस्थित माउन्टेन बि कन्सर्न प्रालिका सञ्चालक सरिता श्रेष्ठ भट्टराई पुरस्कृत हुनुभएको छ । त्यसैगरी गण्डकी प्रदेशबाट पोखरा उपमानगरपालिका-११ कास्कीस्थित हङ्कङ ब्युटी इन्स्टिच्युट प्रालिका सञ्चालक मीना गुरुङ र सुदूरपश्चिम प्रदेशबाट महाकाली नगरपालिका–४ दार्चुलास्थित एभिरिल बेबी सप एण्ड डिजाइनिङ कर्नरका सञ्चालक तारा देवल जनही रु एक लाखसहित पुरस्कृत एवं सम्मानित हुनुभएको हो ।
