काठमाडौँ, १६ असार: माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्याथीहरुले सक्षम जनशक्ति उत्पादन र राम्रो नतिजाका लागि वर्तमान शिक्षा प्रणाली तथा शिक्षण सिकाइमै सुधार जरुरी रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको एसइई उत्तीर्ण गर्ने राससमा कार्यरत पत्रकार तथा कर्मचारीका छोराछोरी सम्मान कार्यक्रममा विद्यार्थीहरुले त्यस्तो बताएका हुन् ।
एसइई उत्तीर्ण शाम्भवी अधिकारीले विद्यार्थीको सफलतामा शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले सोहीअनुसार जिम्मेवारी निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । परीक्षामा राम्रो नतिजा ल्याउन विद्यालय र परिवारमा सहयोगी अभिभावक तथा उपयुक्त वातावरण आवश्यक पर्ने उहाँको भनाइ थियो । “विद्यार्थीले गर्ने मेहनत त छँदैछ तर शिक्षक, अभिभावक, विद्यालय र परिवारमा उपयुक्त वातावरण भएन भने त्यो मेहिनतले मात्रै प्रतिफल प्राप्त गर्न सकिँदैन । त्यसैले सबैको तालमेल मिल्न आवश्यक छ”, अधिकारीले भन्नुभयो ।
विद्यार्थी अध्ययन न्यौपानेले नेपालको शिक्षण सिकाइ अहिले पनि परम्परागत र घोकन्ते अवस्थामै रहेकाले यसमा सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले युवालाई सक्षम र सिर्जनशील बनाउन व्यावहारिक र प्रयोगात्मक शिक्षा अपरिहार्य रहेको धारणा राख्नुभयो । “हाम्रो शिक्षा प्रणाली अहिले पनि परम्परागत, घोकन्ते नै छ, व्यावहारिक छैन । यसलाई रचनात्मक र प्रयोगात्मक बनाउने हो भने युवा पुस्ताले परीक्षाको नतिजा र आफ्नो भविष्यको चिन्ता गर्नुपर्दैन थियो । यसतर्फ सरोकारवालको ध्यान जान आवश्यक छ”, उहाँको भनाइ थियो ।
यस्तै, अर्का विद्यार्थी पहल अधिकारीले राजनीतिक नेतृत्वले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम नगर्दा समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले सामुदायिक विद्यालयमा राज्यले ठूलो लगानी गरे पनि त्यसको प्रतिफल किन आइरहेको छैन भन्नेबारे गम्भीर समीक्षा गर्ने बेला भइसकेको बताउनुभयो । “सामुदायिक विद्यालयमा धेरै लगानी भइरहेको छ तर प्रतिफल दिन सकिएको छैन । यसर्थ सरकार र राजनीतिक दलका नेतृत्वकर्ता तथा सबै सरोकारवालाले गम्भीर भएर सोच्ने बेला भइसकेको छ”, अधिकारले भन्नुभयो,“हाम्रा अभिभावको भूमिका पनि ठीक छैन । जागीर गर्ने बेला सरकारी नै चाहिने तर छोराछोरी पढाउनचाहिँ सामुदायिक विद्यालय नचाहिँने अवस्था सुधारमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । शिक्षक, अभिभावक, विद्यार्थी र मूलरुपमा नेतृत्वकर्ताहरुले असल नियतका साथ काम गरे सामुदायिक विद्यालयले राम्रो नतिजा दिनसक्छन् ।”
निम्ता भट्टराईले यसपटकको एसइई नतिजामा धेरै विद्यार्थी अनुत्तीर्ण हुनुमा सरोकारवाला सबै र शिक्षा प्रणालीको दोष रहेको धारणा राख्नुभयो । हालको नतिजाले शिक्षकको नेतृत्व, विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइको अवस्था र अभिभावकको जिम्मेवारीलाई प्रतिबिम्बित गरेको उहाँको भनाइ छ । “यसपटक अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या धेरै छ, यसमा हामी सबैको कमजोरी होला तर समग्रमा यो नतिजा नेपालको शिक्षा प्रणाली र नेतृत्वकर्ताको प्रतिविम्ब हो । यो अवस्था सुधार्न गम्भीर समीक्षा गर्दै सबै जिम्मेवार बन्न आवश्यक छ”, भट्टराईको भनाइ थियो ।
यस्तै, सम्मानित विद्यार्थी गरिमाकुमारी विश्वकर्माले घरमा उत्साहजनक वातावरण, सहयोगी अभिभावक, विद्यालयमा उपयुक्त, गुणस्तरीय शिक्षण सिकाइ, रचनात्मक र प्रतिस्पर्धात्मक अवस्था भएमा विद्यार्थीले राम्रो नतिजा ल्याउने विचार व्यक्त गर्नुभयो । उहाँले एसइईको नतिजा नै अन्तिम उपलब्धि नभएकाले अभिभावकबाट निरन्तर साथ, सहयोग र हौसलाको अपेक्षा व्यक्त गर्नुभयो ।
—
