युवा शक्तिलाई विकास निर्माण जोड्न सक्नुपर्छः सभामुख घिमिरे

राजनीति समाचार

बागमती, १० साउनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवा शक्तिलाई विकास निर्माणसँग जोड्न सकिए मुलुक समृद्ध हुने बताउनुभएको छ ।

बागमती प्रदेश युवा परिषद्द्वारा हेटौँडामा सञ्चालित युवा सीप वर्ष २०८१ अन्तर्गतका निःशुल्क विकास तालिममा सहभागीहरुको दिक्षान्त समारोहमा सभामुख घिमिरेले युवालाई आवश्यक सीप र तालिम दिएर विकास निर्माणको काममा जोड्न सकिए मुलुकमै रोजगारी सृजनासँगै मुलुक समृद्ध हुने बताउनुभयो ।

“अहिले युवा शक्ति विदेशिने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “युवालाई स्वदेशमै आवश्यक सीप र तालिम दिएर दक्ष बनाइ विकास निर्माणसँगै जोड्नुपर्छ ।” त्यसैले युवालाई स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा नीति आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले युवाहरुलाई सीप दिएर उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । युवा रोजगारीका लागि विदेशिदा मुलकमा दक्ष जनशक्तिको आभाव भइरहेकाले युवालाई स्वदेशमै रोजगारी दिन सक्ने नीति ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागार्इंको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशसभा सदस्यद्वय जगन्नाथ थपलिया, इन्द्रबहादुर बानियाँले युवालाई स्वदेशमै रोजगारी दिन सक्ने नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा तालिमका सहभागी मकवानपुर, चितवन र सिन्धुलीका दुई हजार युवालाई प्रमाणपत्र वितरण ग¥यो ।