लिबियाले मङ्गलबार तीन सय ६९ अनियमित आप्रवासीहरूलाई उनीहरूको गृह देश नाइजेरिया र माली फर्काएको छ । यसमा एक सयभन्दा बढी महिला र बालबालिका छन् । लिबियाको आन्तरिक मन्त्रालय सङ्गठनका प्रमुख मोहम्मद बरेदाले अनियमित बसाइँसराइलाई रोक्नका लागि दुईवटा स्वदेश फिर्ता उडानहरू दुई सय चार नाइजेरियाली र एक सय ६५ मालीलाई पठाइएको बताउनुभयो ।
नाइजेरियाका अनियमित आप्रवासीहरूमध्ये नौ शिशु, १८ नाबालिग र एक सय आठ जना महिला रहेका छन् । उडानहरू आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) सँग समन्वयमा गरिएको थियो । संयुक्त राष्ट्र एजेन्सीले आप्रवासीहरूलाई निःशुल्क फिर्ती उडानहरू प्रदान गर्दछ र उनीहरूको स्वैच्छिक मानवीय फिर्ती कार्यक्रममार्फत उनीहरूलाई उनीहरूको गृह देशहरूमा पुनः एकीकरण गर्न मद्दत गर्दछ ।
तर केही आप्रवासीले उनीहरूलाई जबरजस्ती देश निकाला गरिएको एएफपीलाई बताएका छन् । “लिबियाका अधिकारीहरूले रातमा आएर ढोका तोडिदिए”, लिबियामा २५ वर्षदेखि बस्दै आएका नाइजेरियाली ५९ वर्षीय हाकिमले आफ्नो थर दिन अस्वीकार गर्दै भन्नुभयो । उहाँले आफू र श्रीमतीलाई स्वदेश फर्कनुअघि नै हिरासतमा राखेर राहदानी जफत गरेको बताउनुभयो ।
सन् २०११ मा नाटो समर्थनमा लामो समयदेखिका तानाशाह मोहमर गद्दाफीलाई सत्ताच्यूत गरेपछि लिबिया अझै पनि वषौँको युद्ध र अराजकताबाट पुनःस्थापित हुन सङ्घर्ष गरिरहेको छ । यसमा तस्कर र मानव बेचबिखनकर्ताहरूले विशाल देशमा हावी भएको अस्थिरताको वातावरणको फाइदा उठाउँदै आएका छन् ।इटालीबाट करिब तीन सय किलोमिटरको दूरीमा अवस्थित लिबिया मुख्य रूपमा उप–सहारा अफ्रिकी देशहरूबाट आएका आप्रवासीहरूका लागि प्रमुख प्रस्थान विन्दु हो । उनीहरूले युरोपमा राम्रो जीवनको खोजीमा खतरनाक भूमध्यसागर यात्राहरूको जोखिम मोल्छन् ।
तर लिबिया र युरोपेली सङ्घले अनियमित आप्रवासनलाई रोक्न बढ्दो प्रयासका कारण धेरैले आफूलाई लिबियामा फसाएका छन् ।यस महिनाको सुरुमा लिबियाका अधिकारीहरूले मुलुकमा पाँचमध्ये चार विदेशी कागजातविहीन रहेको बताएका छन् ।
