कृषि दशक सफल बनाउने गरी काम भइरहेको छः मन्त्री अधिकारी

कृषि समाचार

काठमाडौँ, २ भदौः कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज आयोजित समीक्षा बैठकमा मन्त्री अधिकारीले ग्रामीण अर्थतन्त्रको विकासले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताउँदै कृषि क्षेत्रमा विद्यमान समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । कृषि मन्त्रालय प्रत्यक्ष रूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

किसान लक्षित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मलको समस्या, विभिन्न बाली तथा पशुमा देखापरेका रोगको उपचार गर्ने कार्यमा स्थानीय कृषि शाखा कार्यालयलाई क्रियाशील रहन निर्देशन दिनुभयो ।

सरकारले कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको बताउँदै मन्त्री अधिकारीले कृषि उत्पादनदेखि बजारीकरणसम्मको समस्या सुधारका लागि कार्ययोजना कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउने गृहकार्य भइरहेको जानकारी दिँदै खेतीयोग्य जमिनको उपयोग वृद्धि गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले गाउँ मात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकामा चिन्ता व्यक्त गर्दै त्यहाँ उत्पादन गराउन किसानलाई मन्त्रालयले अभिप्रेरित गर्ने विचार व्यक्त गर्नुभयो ।

Facebook Comments Box