भक्तपुर, १३ भदौः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पद एवं पैसाको निम्ति नभई देश र जनताको लागि निःस्वार्थ सेवामा लाग्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको भक्तपुर काण्ड कालो दिन विषयक कार्यक्रममा उहाँले देशमा भएको अन्यायको विरोध नगर्ने कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो । राजनीतिक कार्यकर्ताहरू सैद्धान्तिक रुपमा परिपक्व हुनुपर्नेमा जोड दिँदै उहाँले जनप्रतिनिधि र कार्यकर्ताहरूले व्यक्तिगत फाइदाभन्दा माथि उठेर समाजको हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डबारे नयाँ पुस्तालाई सचेत पार्ने उद्देश्यले यस घटनाबारे चर्चा परिचर्चा आवश्यक भएको बताउनुभयो । भक्तपुर काण्डमा समातिएकालाई पञ्चायती सरकारले युद्धमा हारेकालाई भन्दा पनि दर्दनाक यातना दिइएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायत विभिन्न व्यक्तित्वले भक्तपुर काण्डबाट भक्तपुरका महिलालाई राजनीतिक र सामाजिक रुपमा साक्षर र सङ्गठित गर्ने अभियानको सुरुवात भएको तथा भक्तपुर काण्डलाई सङ्घर्षको रुपमा स्मरण गरेको बताउनुभयो ।