सशस्त्र प्रहरीसम्बन्धी कानुनको प्रस्तावित मस्यौदामाथि छलफल

प्रशासन समाचार

काठमाडौँ, १७ भदौ : गृहमन्त्री रमेश लेखकको समुपस्थितिमा सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुन परिमार्जनकाल लागि तयार पारिएको मस्यौदाबारे आज छलफल भएको छ ।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोक काठमाडौँका आज सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी दर्ता हुन लागेको नयाँ विधेयकका मस्यौदामाथि छलफल भएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

मस्यौदामाथिको छलफलमा गृहमन्त्री रमेश लेखक, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त गृहसचिव नारायणप्रसाद भट्टराईलगायतको सहभागिता थियो ।

उहाँहरू समक्ष गृहमन्त्रालय कानुन महाशाखाका सहसचिव भरतमणि रिजाल र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपालको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयकको मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

उक्त मस्यौदाका १६ वर्षे पेन्सन अवधि, अवकाश उमेर हद, ३० वर्षे सेवा अवधिलगायतका विषयमा छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका पदाधिकारी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतको सहभागिता रहेको थियो ।