त्रिशूली (नुवाकोट), २९ भदौ : नुवाकोटको सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको निर्माण थलिएको छ । जग्गा प्राप्तिमा ढिलो भएको कारण रोखिएको नयाँ भवनको शुक्रबार नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले शिलान्यास गर्नुभयो ।
भवन बनाउन जग्गा अभाव भएपछि सामुदायिक वन क्षेत्रको जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लगाउन समय लागेकाले लक्ष्य भन्दा धेरै ढिलो भए पनि थालिएको निर्माणको काम तोकिएको समयभित्रै सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो ।
“भवन निर्माणको लागि तोकिएको अवधिमा गुणस्तरीय काम गर्न र सोही अनुसारको अनुगमन गर्न सरोकारवाला सबै चनाखो हुनुपर्छ । पूर्व अर्थमन्त्री डा महतले भन्नुभयो “ठेक्का अनुसार बजेटको स्रोत सुनिश्चित भइसकेकाले थालिएको कामको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार अन्तिम रुप दिनुपर्दछ ।”
अहिलेको गाउँपालिका कार्यालय रहेको नजिकै सुरु भएको नयाँ भवन निर्माणको लागि आवश्यक सहजीकरणसहित तोकिएका शर्त अनुसार काम गराउन आफूहरु सजग रहने सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार तीनतले भवन बहुविपत् प्रतिरोधात्मक हुनेछ भने गाउँपालिकाको सेवा प्रवाहको लागि आवश्यक शाखा र सेवा केन्द्र एउटै भवनबाट सञ्चालनमा ल्याइने प्राविधिक ढाँचा गरिएको छ ।
रु एघार करोड छ लाख लागतमा बन्ने नयाँ भवन बनाउन गत असार १२ गते सम्झौता गरिएको थियो । भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) पनि उपस्थिति रहेको थियो । सोही अवसरमा सांसद सीता मिजार, बागमती प्रदेससभा सदस्य तथा कांग्रेस नुवाकोट सभापति रमेशकुमार महतसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सरोकारवालाहरुले मन्तव्यमार्फत नयाँ बन्ने भवनबाट पालिकाको सेवा प्रवाहमा थप सुधारसहित विश्वसनीय सेवा पाउने विश्वास व्यक्त गरेका थिए ।
