काठमाडौँ, ७ असोज : मुलुकको परराष्ट्र तथा सामाजिक क्षेत्रमा कार्यरत अगुवाहरूले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई संयुक्त राष्ट्रसङ्घ र अरु सबै राष्ट्रबाट शान्तिक्षेत्र घोषणा गराउन आवश्यक पहलको लागि आह्वान गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, दर्शन शास्त्र विभागद्वारा आज यहाँ आयोजित ‘बौद्धदर्शन, विश्व शान्ति र शान्ति क्षेत्र नेपाल’ विषयक अन्तत्र्रिmयाका वक्ताहरूले संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा नेपाललाई शान्ति क्षेत्र घोषणापत्र तथा कार्ययोजनालाई पारितका लागि पहल गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँहरूले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न सकिएमा नेपालीको साझा हित र नेपालको समग्र अस्तित्व, सुरक्षा र विकासका लागि ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा परराष्ट्रविद् डा भेषबहादुर थापाले नेपालाई शान्ति क्षेत्र घोषणा गर्न सके भौगोलिक, आर्थिक, कूटनैतिक, सामाजिक, सांस्कृतिक एवं पर्यटन प्रवर्द्धन तथा हकहित सुरक्षा र विकासका लागि ठूलो लाभ प्राप्त हुने धारणा व्यक्त गर्नुभयो ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपाल सधैँ छिमेकीसँग असल सम्बन्ध कायम राखी वार्ता र छलफलका माध्यमबाट शान्तिपूर्ण रूपमा जस्तो सुकै समस्या समाधान गर्न प्रयत्नशील रही आएको उल्लेख गर्नुभयो ।
सामाजिक अभियन्ता डा. रिता थापाले विश्वमा शान्ति कायम गर्नका लागि बौद्ध दर्शन र शिक्षालाई विश्वव्यापी रूपमा फौलाउन सबैको पहलमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले हिन्दु दर्शनका साथै बौद्ध दर्शनमा समेत ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो ।
वक्ताहरूले विश्वमा शान्ति कायम गर्नका लागि बौद्ध दर्शन र शिक्षालाई विश्वव्यापीरूपमा फैलाउन तथा विश्वभरिकै विद्यालय तथा हरेक घर, परिवार र समाजसम्म बौद्ध दर्शन र शिक्षाबारे आवश्यक तालिम, शिक्षा र प्रचारप्रसारका प्रवर्द्धन कार्यहरू गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
