तीन साहित्यिक पुरस्कार घोषणा

साहित्य

गण्डकी, २१ असोज : धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यसवर्ष प्रदान गरिने तीन पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको प्रबन्ध समिति बैठकले ‘काजी रोशन साहित्य पुरस्कार’ दाङ, घोराहीका लेखक सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । प्रतिष्ठानले विसं २०४१ देखि हरेक दुई वर्षमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानमा स्थापित रु १५ हजार राशिको ‘हिमलाल–मन्धरा स्मृति पुरस्कार’ कपिलवस्तुका साहित्यकार हरिराज शर्मा ‘हरिश’ लाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । यस्तै ‘बम–सरस्वती स्मृति पुरस्कार’ विभिन्न कृतिका लेखक एवं अभिनव साहित्य समाज काठमाडौँका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘बेदमणि’ लाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

प्रतिष्ठानले विराटनगर निवासी कथाकार एवं चित्रकार गङ्गा सुवेदीलाई अभिनन्दन गर्ने निर्णय गरेको अध्यक्ष रोशनले बताउनुभयो । आगामी कात्तिक पहिलो साता बागलुङमा आयोजना गरिने समारोहमा तीनै जना साहित्यिक व्यक्तित्वलाई पुरस्कार समर्पण गरिने प्रतिष्ठानले जनाएको छ । विसं २०४१ मा स्थापित प्रतिष्ठान पुरस्कार स्थापनादेखि अन्य साहित्यिक क्रियाकलापमा सक्रिय छ ।
–––

Facebook Comments Box