जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न निर्देशन

प्रशासन मुख्य समाचार समाचार

भक्तपुर, २२ असोजः प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सेवाग्राहीको कुनै गुनासो नआउने गरी कार्यसम्पादन गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिनुभएको छ ।

आज जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा नागरिक समाजसँगको अन्तरक्रियामा जिल्ला परिसर र मातहतका वृत्तमा सरुवा भएर आउनुभएका नयाँ प्रहरी उपरीक्षक एवं प्रहरी नायब उपरीक्षकहरुलाई उहाँले समुदायसँग निकट सम्बन्ध बनाएर अपराध न्यूनीकरणमा लाग्न निर्देशन दिनुभयो ।

उहाँले गुनासो र समस्या लिएर आउने सेवाग्राहीलाई प्रहरी कार्यालयमा हैरानी गराउनु आवश्यक छैन भन्दै प्रहरीले कानूनको परिधिभित्र रहेर समाज र नागरिकमुखी भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

भक्तपुरको सर्भिस ट्रयाक सञ्चालनमा ल्याउन निर्देशन दिँदै बज्राचार्यले भन्नुभयो, “भक्तपुरको सडक छ लेन भनेपनि चार लेन मात्रै सञ्चालनमा छ, सूर्यविनायकदेखि जडीबुटीसम्मको दायँबायाँको दुईलेन सर्भिस ट्रयाकमा जथाभावी व्यापार, पार्किङ्घ भइरहेको छ, त्यसलाई स्थानीय सरकारसँग समन्वय गरेर तत्काल हटाएर यातायात सहजीकरण हुनेगरी सञ्चालनमा ल्याउनुस् ।”

एम्बुलेन्स, दमकल, शववाहन पनि जाममा फसिरहेको देखिने गरेको भन्दै उहाँले सर्भिस ट्रयाक पूर्ण रुपमा सञ्चालनमा आए यस्ता सवारी साधन र साना सवारी साधनको आवतजावतमा सहज हुने बताउनुभयो ।

त्यस अवसरमा उहाँले हनी ट्रयापर र मिटरव्याजीसँग सावधान हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समायमा हनि ट्रयापर बढेको पाइएको छ, यसबाट सचेत हुन म सबैमा आग्रह गर्दछु ।”

उहाँले चेक बाउन्सका घट्ना धेरै आएको भन्दै त्यसमा पनि मिटरव्याजी लगाएर पीडितलाई झन् पीडा दिने कार्य गर्न नहुने उहाँले बताउनुभयो ।

उपत्यकामा पछिल्लो समय साइबर अपराध बढेको भन्दै उहाँले हुण्डी, अनलाइन ठगी र व्यापारका नाममा हुने अनलाइन व्यापारमा समेत एउटा सामान देखाएर अर्कै सामान ल्याएर ठगी गर्ने बढेकाले सचेत रहन सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले प्रहरी र समुदायसँगसँगै नागरिक समाजसँग समन्वय गरेर अपराध न्यूनीकरणमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी वरिष्ट उपरीक्षक विनोद घिमिरेलगायत प्रहरी अधिकृतहरुले परिसरको कार्यसम्पादनको अनुगमन गर्नुका साथै आन्तरिक व्यबस्थापनबारे प्रहरी उपरीक्षक बुढाथोकीले जानकारी गराउनुभएको थियो ।

Facebook Comments Box