प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न : चन्द र तामाङको जोडीलाई उपाधि

खेलकुद समाचार

धरान (सुनसरी), २२ असोज : धरान ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको हलमा भएको ब्याडमिन्टन प्रतियोगिताको उपाधि मेन्स डबल त्रिभुवन आर्मीका हिमाल चन्द र भोजपुरका विशाल तामाङको जोडीले उपाधि जित्नुभएको छ ।

प्रतियोगिताको फाइनल खेलमा एपिएफका क्षितिज खनाल र देवराज रमनाको जोडीलाई पछि पार्दै चन्द र तामाङको जोडीले उपाधि जित्नु भएको हो । प्रथम हुने जोडीलाई नगद रु एक लाख १५ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

उपविजेता एपिएफका क्षितिज खनाल र देवराज रमनाको जोडीलाई नगद रु ५५ हजार प्रदान गरिएको छ भने तेस्रो हुनेमा सुनिलजङ्ग कार्की र महेश खड्का/डेभिड थापामगर र हिमान्सु मगर हुनुभएको छ उहाँहरूलाई नगद रु १५/१५ हजार प्रदान गरिएको छ ।

प्रतियोगिताको फाइनलमा भेट्रान्स ४५ प्लसतर्फ तनहुँका देवबहादुर गुरुङ र कास्कीका शम्भु श्रेष्ठको जोडी प्रथम भएको छ । उहाँहरूलाई नगद रु ६५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता उत्तम सिम्खडा र श्रावण चौधरीले नगद रु ३३ हजार प्राप्त गर्नुभएको छ भने तेस्रो भजनलाल चौधरी, सन्तोष कटुवाल र धनबहादुर लिम्बू, राम योञ्जनलाई नगद रु १०/१० हजार प्रदान गरिएको छ ।

सुपर भेट्रान्स ५५ प्लसतर्फ उत्तम सिम्खडा र सञ्जय भक्तराज विजयी हुनुभएको छ । उहाँहरूलाई नगद रु ६५ हजार प्रदान गरिएको छ भने उपविजेता श्रीप्रसाद धिमाल र राजु महर्जन नगद रु ३३ हजार प्रदान गरिएको छ । तेस्रो स्थानमा सुदीप योञ्जन, दिलबहादुर कन्दङवा र दर्शन भक्तराज, कोमल शाक्यले नगद रु १०/१० हजार प्राप्त गर्नुभएको छ ।

मिक्स डबलमा विशाल खड्का र रसिला महर्जन विजयी हुनुभएको छ । उहाँहरूलाई नगद रु ६५ हजार प्रदान गरिएको छ । उपविजेता सूर्य श्रेष्ठ र रोजी राईलाई नगद रु ३३ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो स्थान प्राप्त गर्नुहुने दीपक घिमिरे, अमिता गिरी र राम राई, निसम सुब्बालाई नगद रु १०/१० हजार प्रदान गरिएको छ ।

प्रतियोगितामा महिला डबलको उपाधि अमिता गिरी र रसिला महर्जनले प्राप्त गर्नुभएको छ । उहाँहरूलाई नगद रु ६५ हजार प्रदान गरिएको छ भने उपविजेता अञ्जना राई र नविना राईलाई नगद रु ३३ हजार प्रदान गरिएको छ । तेस्रो हुने योगिता लिम्बू, निसम सुब्बा र रोजी राई, सृष्टि राईलाई नगद रु १०/१० हजार प्रदान गरिएको छ ।

प्रतियोगितामा सुरक्षा निकायका तीन विभागीय टिमसहित नेपालको ७७ वटा जिल्लाका एक सय २४ टिमबाट पाँच सय जना खेलाडी सहभागी हुनुभएको थियो । प्रतियोगितामा खुला मेन्स डबल २९ टिम, खुला महिला डबल नौ टिम, मिक्स डबल ३० टिम, भेट्रान डबल ४५ प्लसका ३३ टिम, भेट्रान डबल ५५ प्लस २४ टिमबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक हुनुहुन्थ्यो ।
–––

Facebook Comments Box