असनमा खड्गजात्रा गरी मनाइयो दसैँ

मनोरन्जन मुख्य समाचार समाचार

काठमाडौँ, २७ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्गजात्रा आज असनमा निकालिएको छ । असनका तुलाधर समुदायले कुलपूजा साथै खड्ग जात्राको कार्यक्रम गरी दसैँ मनाएका हुन् । सो समुदायले त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गरेका थिए ।

काठमाडौँ महानगरपालिका–२७ असनस्थित तुलाधर समुदायले आफ्नो कुल देवताको घरमा भेला भएर एकापसमा दसैँ मनाएका हुन् । सो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको पूजाआराधना गरेका थिए ।

कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रुपमा त्यसलाई काटेर आसुरी शक्तिको नास गरेर दसैँको टीका लगाउने परम्परा छ । कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजयी प्राप्त गरेको सन्देश प्रवाह गरिएको थियो ।

तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । यसो गर्नाले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वास छ ।

सधैंजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरका अनुसार सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग यो जात्रालाई जोडिएको छ । जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ ।

Facebook Comments Box