कोशी प्रदेशको विपद् व्यवस्थापन गर्न आर्थिक अभाव

आर्थिक मुख्य समाचार राजनीति

धनकुटा, १० कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटा स्थानीय विभागको आयोजनामा भएको प्रशिक्षण तथा समीक्षा कार्यक्रममा सहभागी मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोशी प्रदेशमा रु चार अर्ब ६३ करोड बराबरको क्षति भएको छ, तर हामीसँग पैसा छैन ।”

हाल प्रदेशमा रु ४० करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरिए पनि उक्त रकम प्रदेशका १४ जिल्लाका लागि ज्यादै न्यून भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उक्त विपद् कोष विभिन्न दातृ निकाय र सङ्घीय सरकारको सहयोगमा रु एक अर्बको कोष निर्माण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिंनुभयो ।

प्रदेशमा भएका सबै क्षतिलाई एकैपटक सम्बोधन गर्न नसकिने भएकाले यसलाई आगामी वर्षहरूमा क्रमिक रूपमा व्यवस्थापन गर्दै लैजाने मुख्यमन्त्री कार्कीको भनाइ थियो । सरकारसँग आर्थिक अभाव भएकाले सबै स्थानीय तहलाई विकास निर्माणका काम गर्दा विपद्बाट जोखिम कम हुने किसिमका आयोजनामा विशेष जोड दिन पनि मन्त्री कार्कीले सुझाव दिनुभयो । विपद् व्यवस्थापनका लागि आर्थिक अभाव भएकाले प्रदेशबाट स्थानीय तहमा प्रवाह हुने चालुतर्फको बजेटमा १० प्रतिशत कटौती गरिने तर पुँजीगत तथा विकास बजेटमा कुनै कटौती नगरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य राजेन्द्रकुमार राई, प्रदेशसभा सदस्यद्वय निरन राई र इन्द्रमणि पराजुलीले एमालेबाट धनकुटा जिल्लाको सात स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments Box