कथा प्रतियोगिताका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार

साहित्य

भक्तपुर, २० कात्तिकः चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०८१ मा जाजरकोटका शिवराज शाही ठकुरी प्रथम हुनुभएको छ । उहाँको ‘सन्तानको फोटो’ कथाले प्रथम पुरस्कार हात पारेको हो ।

चक्रपाणि स्मारक प्रतिष्ठानले आज सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणिको जन्मस्थल चक्रपाणि स्मारकस्थलमा आयोजना गरेको उत्कृष्ट कथा पुरस्कार समारोहमा उत्कृष्ट कथाहरुका लागि कथाकारलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा मध्यपुरथिमि नगरपालिका–१ लोहकिल्थली भक्तपुरका मनिषकुमार शर्मा ‘समित’ को ‘मैले नभित्र्याएकी बुहारी’ले दोस्रो र रुपक अलंकारको कथो ‘बङ्गाली बाबा’ले तृतीय पुरस्कार हात पारेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने कथाका लागि रु ३० हजार, दोस्रो हुने कथाका लागि रु २० हजार र तेस्रो हुने कथाका लागि रु १० हजार नगदसहित पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका सदस्य सचिव एवं कार्यक्रम सञ्चालक ंरामगोपाल आतषोतले जानकारी दिनुभयो ।

प्रकाश नेपालीको कथा ‘मेलम्ची कहिले सुक्छ सरकार’ र अनिता पन्थीको ‘जुगुप्सा’ कथाका लागि क्रमश रु पाँच हजारका दरले ‘आरुषी महर्जन’ गुणवत्ता पुरस्कार प्रदान गरिएको छ । कथा प्रतियोगितामा वरिष्ठ कवि शैलेन्द्र साकार, इस्माली र डा विन्दु शर्माले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा जलस्रोत, सिमाविद् एवं पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले उत्कृष्ट कथा लेख्ने कथाकारहरुलाई पुरस्कार र वरिष्ठ समालोचक एवं साहित्यकार प्रा डा गोविन्दराज भट्टराईलाई चक्रपाणि स्मारक पुरस्कार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका क्षेत्रभित्र सञ्चालित निजी तथा सामुदायिक विद्यालयमध्येबाट २०८० को एसइईको नतिजामा नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने दुई जना विद्यार्थी आशीष थापा, समिरा माकजूलाई जनही नगद रु पाँच हजार दरले पुरस्कार रकम प्रदान गरिएको थियो ।

साहित्य वार्षिक चक्रपाणि कथा विशेषाङ्क कथा सङ्ग्रह ‘साहित्य वार्षिक चक्रपाणि कथा विशेषाङ्क’ आजै सार्वजनिक गरिएको कथा विशेषाङ्कका कार्यकारी सम्पादक रामगोपाल आशुतोषले जानकारी दिनुभयो । कथा विशेषाङ्क प्रतियोगताका लागि छनौट भएका ३० वटा कथालाई समेटेर कथा सङ्ग्रह विमोचन गरिएको थियो ।

कार्यक्रममा कविहरू वरिष्ठ कवि शैलेन्द्र साकार, पदम दाहाल युवा कवि सुरेश गाउँले, सञ्जय सुमन, दिलकुमारी डङ्गोल, वसन्त नकर्मी, तेजकुमार श्रेष्ठ, रेणुका भट्टराई, ज्ञानु विद्रोही र राजेश केसीले कविता वाचन गर्नुभएको थियो ।

Facebook Comments Box