पाटन (ललितपुर), ९ मङ्सिर : निराशालाई आशामा बदल्दै सकारात्मक सन्देश दिनुपर्नेमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जोड दिएका छन् । सयदिने विशेष अभियान सुरुआतसँगै ललितपुर पार्टी कार्यालय नखिपोटमा आज आयोजित समारोहमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीका हरेक तहले निराशा र चिन्ता व्यक्त गर्नुको साटो चिन्तन गर्नुपर्ने बताउनुभयो ।
“हामीले राजनीतिक कार्यकर्ता र जनताका बीचमा सञ्चार गर्नुपर्छ, पार्टी कब्जा गर्नेभन्दा जनस्तरमा स्थापित हुनेमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “ठीक र बेठीकको सङ्घर्षबाट लोकतन्त्रलाई जीवन्त राख्नुपर्छ ।” उहाँले नेपाली कांग्रेस इतिहास र विरासत मात्रै नभई वर्तमान र भविष्य निर्माणमा अगुवा बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले नेताहरूको बोली र व्यवहारमा एकरूपता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको सयदिने कार्यक्रममा हाजिरी जनाउनेभन्दा पनि पार्टीको समस्या समाधान गरेर जनताको मन जित्ने गरी क्रियाशील हुन आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य एवम् ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले मेहनतले सङ्गठन निर्माणका लागि ध्यान दिनुपर्ने बताउँदै सयदिने अभियानमा बाढिपहिरोले क्षति पु¥याएको स्थानमा पुनःस्थापना पुनःनिर्माणका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “उद्धार र राहतका काममा ललितपुर क्षेत्र नं १ का जनप्रतिनिधिले उत्कृष्ट काम गर्नुभएको छ, जिल्ला पार्टी नेतृत्वले पनि सहयोग गरेको छ, हामी सबै एक भएर पुनःनिर्माणमा जुट्नुपर्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य जित जङ्ग बस्नेतले निकटता र सहजताका आधारमा गुट र उपगुट हुने भन्दै त्यसलाई सहज रुपमा व्यवस्थापन गर्दै एकताबद्ध भएर सहमति र सहकार्यमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले पार्टीमा युवासँगसँगै महिलालाई राजनीतिक रुपमा प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । वडादेखि केन्द्रीय तहसम्म हरेक क्षेत्रमा महिलालाई पुरुष सरह समान भूमिकामा स्थापित गरिनुपर्ने जोड दिनुभयो ।
बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले हरेक क्षेत्रमा देखिएका बेथिति र वितृष्णालाई सम्बोधन गर्दै आशा र विश्वासको सञ्चार गर्नुपर्ने बताउनुभयो ।
जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको मतभेदलाई समाधान गर्न एक सयदिने अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेसका महासमिति सदस्य चिरीबावु महर्जनले आफूले सधैँ जनतालाई विश्वास दिलाउने गरी काम गर्ने बताउनुभयो । उहाँले पार्टीले ल्याउने जनप्रिय योजनालाई ध्यान दिएर बजेट व्यवस्थापन गर्ने बताउँदै ध्यान दिएर जनताले समस्या बुझेर योजना बनाउन र माग गर्न आग्रह गर्नुभयो ।