काठमाडौं, भदौ २३ । प्रेस काउन्सिल नेपालका सदस्य एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यका पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा २०७६ साल भदौ २३ गते सोमबार विहान काठमाडौँको कीर्तिपुर, सल्यानथानस्थित निवासमा निधन भएको छ । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । प्रेस काउन्सिल नेपालको सोमबार बसेको बोर्ड बैठकले आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । स्वर्गीय आचार्यका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
