‘सम्पदा, साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजानुपर्छ’

पाटन (ललितपुर), २१ मङ्सिरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजान आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा आज आयोजित भीष्म बाँस्कोटाद्वारा लिखित नेपालमण्डल (विश्वसम्पदा लोकमाला) को लोकार्पण समारोहमा मन्त्री पाण्डेले पुस्तकले सम्पदा साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजानका लागि महत्वपूर्ण योगदान गर्दै सांस्कृतिक प्राणतत्वलाई जीवित राख्ने काम गरेको बताउनुभएको हो ।

“नेपालमण्डलका भौतिक र अभौतिक सम्पदालाई पुस्तकमा समावेश गरिएको छ, सम्पदा र इतिहासबारेमा सिद्धहस्त चर्चा गरिएको छ, नेपालमण्डल देशको मुटु हो, यसबारेमा चित्रण गरेर लेख्नु महत्वकाङ्क्षी काम हो, यसले हाम्रो इतिहास र संस्कृतिको जगेर्ना गर्दै सम्पदाको महत्व पहिचानमा भूमिका खेल्नेछ”, मन्त्री पाण्डेले भन्नुभयो ।

यस पुस्तकले नयाँ पुस्तालाई पनि हौसला प्रदान गर्ने उहाँको भनाइ थियो । नेपालको इतिहास, साहित्य र सम्पदाको माध्यमबाट विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चलायमान बनाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव डा सुरेश सुरस श्रेष्ठले सम्पदा र संस्कृतिबारे सङ्ग्रह गरेर लोकलयलाई जीवन्त राखेको बताउनुभयो । उहाँले ध्रुपद परम्परालाई निरन्तरता दिएकोमा लेखकलाई धन्यवाद भन्नुभयो ।

“पुस्तक अहिलेको सन्दर्भमा संस्कृति, इतिहास र सम्पदा बुझ्न महत्वपूर्ण छ, लोकलयमा पठनपाठन गराउन सकेमा हराउँदै गएको सभ्यता फिर्ता आउनेछ”, उहाँले भन्नुभयो ।

सञ्चारकर्मी एवं साहित्यकार डा नवराज लम्सालले पुस्तकले हराउँदै गएको पाटो र पुरानो लय चेतनालाई सम्झाइदिएको धारणा राख्नुभयो । “इतिहासको विषयमा साहित्यिक रस भएन भने अपूरो हुन्छ, तथ्यमा आधारित रहेर काव्यिक भावमा लेखिएको छ, परिभाषित शब्दहरु उपयोगी छन्, संस्कृतिमा हुने मिठास पुस्तकमा भेटिन्छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ इतिहासविद् प्राध्यापक डा दिनेशराज पन्तले पुस्तक तयार गर्न लेखकले धेरै परिश्रम खर्चिएकाले यो इतिहास र संस्कृतिको दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभयो ।

लेखक भीष्म बाँस्कोटाले इतिहास र संस्कृतिको विषय निरस बन्दै गइरहेको अवस्थामा लोकलयमा लिखित यो पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदालाई सर्वसाधारणले बुझ्ने गरीएकीकृत रूपमा पुस्तकमार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले २०७६ सालमा सुरु गरेर २०८१ मा पुस्तक तयार पारेको जानकारी दिनुभयो ।