काठमाडौँ, २६ मङ्सिरः श्रीमद्भागवत गीताका उपदेश मानिसको जीवनमा आवश्यक भएको प्रवचनसहित गीता प्रादुर्भाव जयन्ती मनाइएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती देशभरका मठ मन्दिरमा मनाइएको हो । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम पनि आयोजना गरिएको छ ।
पाँच हजार १३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनःजागरण गरेको धार्मिक विश्वास छ ।
कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन सबै आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाउनुभएको ग्रन्थ गीता हो । गीताको ज्ञान मानवमात्रका लागि आवश्यक मानिन्छ । हालसम्म सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ विश्वमै गीता रहेको जनाएको छ ।
यस अवसरमा आज विभिन्न मन्दिरमा गीता पाठ पारायण गरिएको थियो । चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानले जनाएको छ ।
ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका एक सय १ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसकेका छन् । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ । यसै अवसरमा गीता प्रेसले आज पशुपति क्षेत्रमा प्रवचन कार्यक्रम गरेको थियो ।