काठमाडौँ, ७ पुसः खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन बाम्बो क्रिएसन प्रालि आयोजक रहनेछन् ।
सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी सङ्घसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ ।
सम्मेलनको उद्देश्य बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने रहेको दिक्तेल नगरपालिकाका तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
बाँस खेती गर्ने किसानको प्रवर्द्धनका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने सम्मेलनको उद्देश्य रहेको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी भई प्रत्यक्ष अवलोकन गर्ने उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा बाँस विज्ञको प्रस्तुतीकरण गरिने, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामग्रीहरूको स्टल प्रदर्शन गर्ने, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन गरिने मूल आयोजक समितिका संयोजक गणेश साहले जानकारी दिनुभयो ।
सम्मेलनको पूर्वतयारीका लागि यही पुस १४ गते कोशी प्रदेशको इटहरीमा, पुस १५ गते मधेश प्रदेशको जनकपुरमा, पुस १६ गते बागमतीको हेटौँडामा, पुस १८ गते गण्डकीको पोखरामा र पुसको अन्तिम साता उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)मा प्रादेशिक कार्यक्रमहरू गर्ने उहाँले बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले बाँसलाई ‘ब्रान्ड’ बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।
बाँस एक बहुउपयोगी वनस्पति हो । यसको मानव जीवन र जनजीविकासँग अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उहाँले ग्रामीण क्षेत्रमा आवश्यकता र सहरी क्षेत्रमा सौखका कारण पनि बाँसका सामग्रीहरूको प्रयोग बढ्दै गएको बताउनुभयो ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले नेपाल जस्तो पहाडी तथा संवेदनशील भूबनोट भएको देशमा भू तथा जलाधार संरक्षण, कम खर्चिलो तथा दिगो भूकम्पमैत्री निर्माण, पर्यावरणीय शुद्धीकरण र व्यावसायिक वृद्धिलगायत दृष्टिकोणले बाँसको महत्व अझ सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
ग्रिन बाम्बो क्रियसन प्रालीका प्रबन्ध निर्देशक प्रणव प्रधानले बाँस प्रजातिको संरक्षण, प्रवर्द्धन र उपयोगितालाई उजागर गर्दै बाँसका उत्पादनहरूको विविधीकरण, प्रयोगलाई गुणात्मक रूपमा अभिवृद्धि गर्न, बाँस केन्द्रित राष्ट्रिय नीति–निर्माण, योजना तथा कार्यक्रम सञ्चालन गर्न, सीप र प्रविधि विकासको अभिवृद्धिलगायत विषयहरूलाई लक्षित गरी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
नेपालमा बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति उपलब्ध छन् । बाँस र बाँसजन्य सामग्रीहरू विशेषगरी आयस्तर कम भएका नागरिकहरूको जीवनयापनका लागि महत्वपूर्ण आधारका रूपमा रहँदै आएका छन् । यसका अतिरिक्त बाँस हाम्रो धर्म, संस्कृति, परम्परा, घरेलु तथा साना उद्यमलगायत जनजीविकासँग जोडिएको छ ।
नयाँ पुस्तालाई प्रकृतिसँग सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण र दिगो विकासको मूल प्रवाहीकरणमा लैजाने, बाँससँग सम्बन्धित किराँतलगायत धार्मिक, पौराणिक कलासंस्कृति र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्न, बाँसबाट प्राप्त हुने वस्तु तथा सेवाको प्रवर्द्धन र बजारीकरण गरी राष्ट्रिय अर्थतन्त्रलाई सहयोग पुर्याउन सम्मेलनले मद्दत गर्ने आयोजकले विश्वास लिएको छ ।
—