पत्रकारले समाज र नागरिकलाई सचेत बनाउनुपर्छ : अध्यक्ष नेपाल

राजनीति समाचार

काठमाडौँ, ८ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्न स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विजयी भएका समाजवादी प्रेस सङ्गठनका पत्रकारलाई शुभकामना आदानप्रदान गर्न केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले जनताको स्वतन्त्रताको संरक्षण गरी प्रजातान्त्रिक संस्कृतिलाई संस्थागत गर्न पत्रकारिता क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो ।

नागरिकको स्वतन्त्रताको संरक्षण तथा सामाजिक चासोका विषयमा पत्रकारले थप खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले पत्रकारिता क्षेत्रले समाजमा सूचना र ज्ञान फैलाएर नागरिकलाई सचेत बनाउने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न सही नीति तथा कार्यक्रम पार्टीले अवलम्बन गरेकाले जनताको आकर्षण बढेको बताउनुभयो ।

Facebook Comments Box