भ्रष्टाचार विकासको मुख्य बाधकः नेता डा कोइराला

आर्थिक मुख्य समाचार

महोत्तरी, १३ पुसः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताउनुभएको छ । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उहाँले त्यसैकारण अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताउनुभयो ।

नेता डा कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आपूm उम्कन पाइँदैन । यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ”, उहाँले भन्नुभयो, “यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ । भ्रष्टाचारले संस्थागत रूप लिएकाले यसविरुद्ध निर्मम सङ्घर्ष आवश्यक छ”, उहाँले भन्नुभयो ।

युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता डा कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता औँल्याउनुभयो । त्यसका लागि कृषि उपयुक्त अवसर भएको उहाँको भनाइ थियो । “हाम्रो सम्भावनाको क्षेत्र कृषि नै हो । मधेशकै कुरा गर्दा पनि यसलाई अन्नको भण्डार मानिँदै आइएको छ । कृषिलाई आधुनिकीकरण गर्न ठोस पहलकदमी नहुँदा लाभ लिन सकिएको छैन । अब कांग्रेस नेतृत्वमा बहुमतको सरकार बने मात्रै यी समस्या निदानका लागि काम गन सकिन्छ । यसका लागि सबैले प्रयास गरौँ”, डा कोइरालाले भन्नुभयो ।

यसअघि विविध कारणले रोकिएको यस क्षेत्रको अधिवेशन आज सुरु भएको हो । आज नेता राघवेन्द्र झाको अध्यक्षतामा उद्घाटनसत्र सम्पन्न भएको र भोलि जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाहलमा पार्टीका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा बन्दसत्र हुने कार्यक्रम रहेको महासमिति सदस्य बजरङ्ग नेपालीले जानकारी दिनुभयो ।

Facebook Comments Box