इनरुवा (सुनसरी), १६ पुसः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा आज नेपाल पत्रकार महासङ्घ सुनसरीका नवनिर्वाचित प्रतिनिधिको पदस्थापन कार्यक्रममा उहाँले राजनीतिक स्थायित्वका लागि कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको उल्लेख गर्दै जनतामा देखिएको निराशालाई चिर्दै आशा ल्याउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत उल्लेख गर्नुभयो । “अहिले दुई दल मिलेर सरकार गठन गरे पनि आगामी निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने हो”, उहाँले भन्नुभयो । लोकतन्त्रको पहरेदार सञ्चार माध्यमले आशा जगाउने किसिमका समाचारलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसअसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालाले पत्रकारहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा एक ठाउँमा उभिएर काम गर्नुपर्ने बताउनुभयो । नेकपा (एमाले) का केन्द्रीय सदस्य मञ्जु भण्डारीले गलत अफवाह फैलाएर चर्चित हुने व्यक्तिप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।