काठमाडौँ, २२ पुस : आमसञ्चार माध्यमले आफुहरुलाई विभेद गर्ने गरेको गुनासो सङ्घीय संसद्का महिला सांसदहरुले गर्नुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सदस्यहरुले संसद्मा सार्वजनिक महत्वका मुद्दा उठान गर्दा मिडिया कभरेजमा विभेद हुने गरेकाले लैैङ्गिक संवेदनशिल हुन पत्रकारहरुलाई सुझाव दिनुभयो ।
आज यहाँ आयोजित लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी अन्र्तक्रियामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले महिला सांसदलाई पुरुष सांसदको विकल्पको रुपमा व्यवहार गरिनु विभेद भएको बताउनुभयो ।
“महिला सांसदले बोल्दा समाचार बन्दैन”, सांसद पन्तले भन्नुभयो, “धेरै सांसदलाई बैठक सकेर चिया खाजा खाने भलाकुसारी गर्ने समय हुन्छ । महिला सांसदहरु बैठक सकेर घर पुगेर लुगा फेर्न नपाउँदै भान्छा पस्नुपर्छ । ९९ प्रतिशत महिला सांसदको समस्या हो यो ।”
उहाँले पत्रकारसँगको अनुभव सुनाउँदै राष्ट्रियसभालाई कम महत्त्वमा राखिएको गुनासो गर्नुभयो । “सञ्चार माध्यमले महिला सांसदहरुलाई विकल्पको रुपमा प्रयोग गर्नुहुन्छ । पुरुष सदस्यले नभ्याएमा मात्र महिला सदस्यलाई सूचनाको लागि सम्झिनुभएको मसँग प्रशस्त अनुभव छ”, उहाँले भन्नुभयो, “अझ राष्ट्रियसभाका सदस्यले महत्त्वपूर्ण विषयमा छलफल गर्दा समाचारको विषय बन्दैन । कभरेज नै हुदैन ।”
संसदीय सुनुवाई समिति (संयुक्त समिति)का सभापति ईश्वरीदेवी न्यौपानेले पनि समान अनुभव सुनाउनुभयो । “संसद्मा महिला सांसदले गर्नुभएका राम्रो अभ्यासको कथा खै त आमसञ्चारले भनेको ?”, उहाँले भन्नुभयो ।
अन्तरक्रियामा राष्ट्रियसभा सदस्य जयन्ती राईले पुरुष सांसद पत्रकारको प्राथमिकतामा पर्नुका कारण जिम्मेवारी र पद पनि भएको भनाइ राख्नुभयो । “आमसञ्चार माध्यमबाट हामीलाई विकल्पको रुपमा लिइन्छ । महिला सदस्यको समाचारलाई धेरै बाइपास गरियो ”, सांसद राईले भन्नुभयो, “भूमिका र जिम्मेवारीले पनि पछि परिने रहेछ । पार्टीभित्र जिम्मेवारी पाउँदै जाँदा हाम्रो आवाज स्वतः बुलन्द बन्छ ।”
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको संसदीय दलको सचेतक शुसिला थिङले पत्रकारले महिला सदस्यहरुले उठान गरेको सार्वजनिक महत्त्वको विषयलाई कभरेज दिन सुझाव दिनुभयो ।
प्रतिनिधिसभा सदस्य रोसन कार्कीले पत्रकारले महिला सांसदलाई गर्ने व्यवहार समान नभएको जिकिर गर्नुभयो । सांसद कार्कीले भन्नुभयो, “महिला सांसदसँग समाचार हुन्छ । महिलाहरुसँग प्रश्न किन नगर्ने ? संसदमा उपलब्ध समयमा महिला सांसदहरु बोल्नुहुन्छ । तर समाचार बन्दैन ।”
राष्ट्रियसभाको सदस्य मदन कुमारी शाह (गरिमा) ले महिला सांसदहरु अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले पार्टी र नेताभन्दा जनतासँग सरोकारका विषयमा प्रश्न गर्न पत्रकारसँग अनुरोध गर्नुभयो ।
—