काठमाडौँ, ९ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताको स्थितिलाई सुधार्न प्रयत्न भइरहेको बताउनुभएको छ ।
तुलसीराम स्मृति प्रतिष्ठानमा आज नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेकाले यसलाई सुधार्ने प्रयास गरिरहेको बताउनुभयो ।
“राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ । तर हाम्रो भविष्य सधैँ यस्तै रहन्छ भन्ने होइन,” उहाँले भन्नुभयो, “हामी हाम्रो भविष्य सुधार्न चाहन्छौँ, सक्छौँ । सुधार्नुपदर्छ । त्यो हिसाबले सोच्नुपर्छ ।”
महासचिव पोखरेलले सार्वजनिक यातायात क्षेत्रलाई विश्वसनीय र भरपर्दाे बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अनुभूति गराउने क्षेत्र यातायात क्षेत्र रहेको उल्लेख गर्दै सार्वजनिक यातायात अस्तव्यस्त भए मुलुक समृद्धीतर्फ नजाने बताउनुभयो । उहाँले यातायात क्षेत्रसमक्ष हुँदा आधारभूत वर्गले सन्तुष्टि पाउने बताउनुभयो ।
सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले सरकारले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । सङ्गठनको तेस्रो राष्ट्रिय महाधिवेशनले गौतमको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
