खोटाङ, १५ माघः केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले कब्जा (पच) गरेको छ ।
तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक विजयी भएपछि सोमबार पृथ्वी माविले शिल्ड कब्जा गरेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौँ संशोधन २०८० मा उल्लेख भएअनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो रनिङ शिल्ड सधँैका लागि राख्न पाउने व्यवस्था छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो कराँते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदक ल्याएर पृथ्वी माविले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
यही माघ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ स्वर्ण, तीन रजत, एक कास्य पदकसहित शुक्रजित मावि दोस्रो र तीन स्वर्ण, छ रजत र एक कास्य पदकसहित जालपा मावि बाक्सिला तेस्रो भएको छ ।
प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ५० हजार, ४५ हजार र ४० हजार नगद पुरस्कारको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौधन राईलगायतले पुरस्कार वितरण गर्नुभएको छ ।
प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित नौवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरुले नवौँ जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । केपिलासगढी गाउँपालिकासँगै हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ र बराहपोखरी गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।